६ पुष , काठमाण्डौ ।
बङ्गलादेशको मयमनसिंह जिल्लामा २७ वर्षीय हिन्दु युवा दिपु चन्द्र दासलाई कुटपिट गरी हत्या गरिएको घटनामा सुरक्षा अधिकारीहरुले ठूलो कारबाही गर्दै १० जनालाई पक्राउ गरेका छन् ।
यो जानकारी बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत दिएका हुन् । यस घटनामा ¥यापिड एक्सन बटालियनले सात जना संदिग्धहरूलाई पक्राउ गरेको मुहम्मद युनुसले बताएका छन् ।
स्थानीय प्रहरीले तीन जना अभियुक्तलाई पक्राउ गरेको बताइएको छ । यि गिरफ्तारी विभिन्न क्षेत्रमा गरिएको विशेष अपरेशनको भागको रूपमा गरिएको थियो । भीडले कुटपिट गरी हत्या गरेर दिपु चन्द्र दासको शरीरमा आगो लगाएको थियो ।
दिपु चन्द्र दासलाई ईश्वरनिन्दाको आरोपमा भीडले क्रूर रूपमा कुटपिट गरेर उनको शरीरलाई रूखमा झुण्ड्याएर आगो लगाइएको समाचार आएका छन् ।
पक्राउ परेका अभियुक्तहरूको नाम सार्वजनिक भएको छ । उनीहरु १९ वर्षदेखि ४६ वर्षसम्मका रहेका छन् । मुद्दाको निष्पक्ष रूपमा अनुसन्धान गरिने र दोषीहरूलाई कानुन अनुसार कडा सजाय दिइने आश्वासन अन्तरिम सरकारले दिएको छ ।
अल्पसङ्ख्यकहरूको सुरक्षा सुनिश्चित गर्न थप कदम चालिने पनि बताएको छ । बङ्गलादेश हिन्दू–बौद्ध–क्रिश्चियन एकता परिषद्ले घटनाको कडा निन्दा गरेको छ । संस्थाले यसलाई साम्प्रदायिक सद्भाव बिगार्ने षड्यन्त्र भनेको छ र दोषीहरूलाई कडा सजायको माग गरेको छ ।
विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्युपछि देश पहिले नै तनावग्रस्त रहेको बेला यो घटना भएको हो । हादीको हालैको मृत्युले देशका धेरै भागहरूमा अशान्ति र हिंसा निम्त्याएको छ ।
हादीलाई शनिबार बंगलादेशका राष्ट्रिय कवि काजी नजरुल इस्लामको चिहानको छेउमा रहेको ढाका विश्वविद्यालय परिसरमा कडा सुरक्षा व्यवस्था बिच अन्तिम संस्कार गरिएको थियो ।
शनिबार दशौं हजार शोकाकुल व्यक्तिहरू उनको अन्त्येष्टिका लागि भेला भएका थिए । गत वर्षको प्रजातन्त्र समर्थक विद्रोहका एक प्रमुख व्यक्ति सरिफ उस्मान हादीको गत बिहीबार ढाकाको मस्जिदबाट बाहिर निस्कने क्रममा मास्क लगाएका बन्दुकधारीले गोली हानेर हत्या भएको थियो ।
शनिबार अन्त्येष्टि प्रार्थना गरिएको संसद् भवन अगाडि शरिरमा क्यामरा जोडिएका प्रहरी तैनाथ गरिएको थियो । गत वर्षको आन्दोलका एक प्रमुख नेता ३२ वर्षीय हादी भारतका कट्टर आलोचक हुन् भने उनले आगामी फेब्रुअरीमा हुने आम चुनाव लड्ने तयारी गरेका थिए ।
प्रार्थनामा सहभागी हुन टाढाबाट आएका एक सरकारी कर्मचारी इकबाल हुसेन साइकोटले हादीले भारतको कडा विरोध गरेकै कारण हत्या गरिएको दावी गरे । हादीको मृत्युले बङ्गलादेशमा व्यापक अशान्ति निम्त्याएको छ भने प्रदर्शनकारीहरूले जिम्मेवारहरूलाई पक्राउ गर्न माग गरिरहेका छन् ।
बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले सन् २०२४ को विद्रोहपछि ढाकाबाट भागेर नयाँदिल्लीमा आश्रय लिँदै आएको ढाकाको दावी छ । यसबीच बंगलादेशमा भारतविरोधी भावना तीव्र बन्दै गएको छ ।
आउँदो फेब्रुअरी १२ मा हुने संसदीय चुनाव नजिकिँदै जाँदा विद्यार्थी नेता र सरकारका सल्लाहकारबाट व्यक्त तिखा टिप्पणीले दुई देशबीचको सम्बन्धमा थप तितोपना ल्याएको छ । यसले आउँदो चुनावमा भारतविरोध नै मुख्य मुद्दा बन्ने हो कि भन्ने शंका गरिएको छ ।
देशका विभिन्न भागमा प्रदर्शनमा सहभागीले शेख हसिना र भारतविरोधी नारा लगाउँदै आएका छन् । खासगरी हादीको हत्यापछि प्रदर्शनकारी उग्र भएका छन् । चटगाउँमा भारतीय सहायक उच्चायुक्तको आवासअगाडि रातिसम्म विरोध प्रदर्शन गरिएको छ ।
शेख हसिना र अवामी लिगप्रति भारतको नरम दृष्टिकोणबारे सुरुदेखि नै बंगलादेशमा बहस हुँदै आएको छ । विद्यार्थी नेता र जमात–ए–इस्लामीजस्ता कट्टरपन्थी दलले गत अगस्टदेखि यो विषयलाई जोडदार रूपमा उठाउँदै आएका छन् ।
शेख हसिनालाई भारतले शरण दिएको विषयले पनि दुई देशबीचको सम्बन्धमा थप तनाव सिर्जना गरेको छ । बंगलादेशको अदालतले हसिनालाई मृत्युदण्ड सुनाएपछि अन्तरिम सरकारले कम्तीमा दुईपटक भारतसँग उनको प्रत्यर्पणको माग गरेको छ । तर, भारत यो विषयमा मौन छ ।
यसले सरकार र कट्टरपन्थी दलको आक्रोश बढाएको छ । गएको हप्ता व्यक्त दुई तिखो बयानले द्विपक्षीय सम्बन्धलाई थप तनावग्रस्त बनाएको छ । विद्यार्थी नेता हसनत अब्दुल्लाले भारतले बंगलादेशलाई अस्थिर बनाउन खोजेमा त्यसका सात पूर्वी राज्यलाई मुख्य भूमिबाट अलग पारिदिने धम्की दिएका थिए ।
हसनत पहिले युनुस सरकारमा मन्त्री थिए । पछि राजीनामा दिएर उनले नेसनल सिटिजन पार्टी गठन गरेका छन् । उनको उक्त भनाइपछि भारतीय विदेश मन्त्रालयले ढाकास्थित उच्चायुक्तलाई बोलाएर आपत्ति जनाएको थियो ।
दूतावासको सुरक्षा पनि बढाइएको थियो । हसनतले पछि भारतीय उच्चायुक्तलाई देशनिकाला गर्ने चेतावनी पुनः दोहो¥याए । त्यही दिन बंगलादेशका विदेश मन्त्रालयका सल्लाहकार मोहम्मद तौहीदले सन् १९७१ को मुक्ति युद्धमा आफ्नो देशको योगदानलाई भारतले कम आँकेको आरोप लगाए ।
उनले कोलकातास्थित पूर्वी कमान्डमा भारतले विजय दिवस मनाउँदै श्रेय आफैँले लिने गरेको जिकिर गरे । यो विषय पुरानो विवादका रूपमा रहँदै आएको छ । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का नेताहरूले पनि मुक्ति बाहिनीले नै पाकिस्तानलाई हराएको दाबी गर्दै आएका छन् ।
राजनीतिक विश्लेषकका अनुसार, भारत–बंगलादेश सम्बन्धमा तितोपना बढ्दो क्रममा छ । र, चाँडै सुधार हुने संकेत देखिँदैन । राजनीति विज्ञानकी प्राध्यापक डा. संगीता घोष भन्छिन्, “छिमेकी देशमा देखिएको अवस्था भारतको हितविपरीत छ । त्यहाँ जानाजानी भारतविरोधी भावना भड्काइँदै छ । फेब्रुअरीको चुनावमा पनि यो मुख्य मुद्दा बन्न सक्छ । दुवै देशले कूटनीतिक पहल गर्नुपर्छ, तर तत्काल सम्भावना कम देखिन्छ ।”
उनका अनुसार, चुनावपछि लोकतान्त्रिक सरकार बनेमा मात्र प्रक्रिया अघि बढ्न सक्नेछ । राजनीति विज्ञानका प्राध्यापक मईदुल इस्लाम भन्छन्, “बंगलादेशमा अहिले भारतविरोध नै सबैभन्दा ठूलो राजनीतिक मुद्दा बनेको छ । कट्टरपन्थी दलहरूले राजनीतिक फाइदाका निम्ति जनतालाई भड्काइरहेका छन् । शेख हसिनाको प्रत्यर्पणलाई मुद्दा बनाएर भारतमाथि दबाब सिर्जना गरिएको छ । चुनाव नजिकिँदै जाँदा अल्पसंख्यकमाथि उत्पीडन बढ्न सक्ने जोखिम छ, जसका कारण भारत ‘वेट एन्ड वाच’ नीतिमा सीमित देखिएको छ ।”










