२४ पुष , काठमाण्डौ ।
अमेरिकामा एक आप्रवासीको हत्या भएको छ । संघीय कर्मचारीले नै ती आप्रवासीको हत्या गरेपछि चौतर्फी विरोध सुरु भएको छ । मिनियापोलिसमा संघीय सरकारका एक अध्यागमन तथा भन्सार प्रवर्तन एजेन्टले ३७ वर्षीय महिलामाथि गोली चलाएका छन् ।
रेने निकोल नामकी ती महिलामाथि गोली चल्नासाथ सडकमा नारावाजी र प्रदर्शन सुरु भएको थियो । स्थानीयले मिन्नेसोटाबाट आप्रवासन अधिकारीहरुलाई बाहिरिन चेतावनी दिएका थिए ।
यस विषयमा संघीय अनुसन्धान ब्युरो (एफबीआई) सहितका निकायहरुले यस घटनाको छानविन गरिरहेका छन् । अमेरिकाका संघीय अधिकारीहरु र मिन्नेसोटा राज्यका अधिकारीहरुले फरक–फरक प्रतिक्रिया दिएका छन् ।
घरेलु सुरक्षा विभाग (डिएचएस) की प्रवक्ता ट्रिसिया म्याक लाफलिनले मृतक महिलाले एजेन्टलाई निशाना बनाएको दाबी गरेकी छिन् । उनले ती महिलाको गाडीमा हतियार रहेको आरोप समेत लगाएकी छिन् । आत्मरक्षाका लागि एजेन्टले गोली चलाएको उनले दाबी गरिन् ।
मिन्नेसोटाका गभर्नर टिम वाल्जले यस घटनालाई रोक्न सकिने अवस्था हुँदा हुँदै अध्यागमनका कर्मचारीले गोली चलाएको बताएका छन् । उनले आन्दोलनकारीहरुलाई शान्त रहन आग्रह गरेका छन् ।
त्यस्त, राज्य प्रहरीलाई अलर्ट राखिएको जनाएका छन् । विपक्षी डेमोक्रेटिक पार्टीकी सांसद् वुमन इल्हान ओमरले सामाजिक सञ्जालमा पोस्ट गर्दै आप्रवासन अधिकारीहरुले कठोर र बर्बर कदम चालिरहेको बताएकी छिन् ।
यस घटनापछि अमेरिकका विभिन्न शहरमा प्रदर्शन भएको छ । मिनियापोलिसमा यसअघि मेई, सन् २०२० मा जर्ज फ्लोइडको घाँटी थिचेर हत्या भएको थियो । त्यसबेला पनि डोनाल्ड ट्रम्प नै राष्ट्रपति थिए ।
यस घटनाको विरोधमा ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियान चलाइएको थियो । रेनेमाथि गोली चलेको स्थलबाट उक्त स्थानबाट केवल १. ६ किलोमिटर पर छ । ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएर आएदेखि नै मिनियापोलिस र सेन्ट पल शहरमा आप्रवासीहरुले असुरक्षित महसुस गर्न थालेका छन् ।
यहाँ अध्यागमन कार्यालयमा निरन्तर छापा हानिरहेको छ । हजारौं मानिसलाई हिरासतमा लगिएको छ । अध्यागमनका एजेन्ट र प्रदर्शनकारीबीच बेला–बेला झडप पनि हुने गरेको छ । यी दुई शहरमा ठूलो संख्यामा सोमालिया मुलका अमेरिकीहरु बस्छन् ।
पछिल्लो समय उनीहरु ट्रम्पको निशानामा परेका छन् । गत डिसेम्बरमा मन्त्रिपरिषद् बैठकमा ट्रम्पले उनीहरुलाई फोहोरी भनेर सम्बोधन गरेका थिए । ‘म उनीहरुलाई हाम्रो शहरमा बसेको हेर्न चाहन्न,’ उनले भनेका थिए । ट्रम्प प्रशासनले यस शहरमा बाल हेरचाहमा संघीय सरकारले गर्ने सहयोगको ठूलो हिस्सा कटौती गरिसकेको छ ।









