२४ पुष , काठमाण्डौ ।
नेपाल प्रहरी प्रधान कार्यालयले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ठूलो सङ्ख्यामा ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी) को दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले बिहीबार एक सूचना जारी गर्दै कुल १ लाख ३३ हजार ९ सय ८० जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो ।
इच्छुक नेपाली नागरिकहरूले काठमाडौँ उपत्यकाका तीनवटा जिल्ला प्रहरी परिसर (काठमाडौँ, ललितपुर र भक्तपुर) तथा देशका सबै ७७ वटै जिल्ला प्रहरी कार्यालयहरूमा स्वयम् उपस्थित भई दरखास्त दिन सक्नेछन् ।
दरखास्त फाराम २०८२ पुस २६ गतेदेखि २०८२ माघ १ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म बुझाउन सकिनेछ । सार्वजनिक बिदाको दिनमा समेत दरखास्त बुझाउन सकिने छ ।
म्यादी प्रहरीमा भर्ना हुनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । अर्थात २०२८÷१०÷०१ देखि २०६४÷१०÷०१ सम्म जन्ममिति भएकाले भर्ना हुन पाउनेछन्।
साधारण लेखपढ गर्न जान्ने, कुनै राजनीतिक दलको सदस्य नरहेको, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको र शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
शारीरिक मापदण्डका हकमा पुरुषको उचाइ कम्तीमा ५ फिट २ इन्च, छाती ३१–३३ इन्च र तौल ५० केजी हुनुपर्नेछ । महिलाको हकमा उचाइ ५ फिट र तौल ४२ केजी हुनुपर्ने व्यवस्था गरिएको छ ।
भर्ना प्रक्रियामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्व कर्मचारीहरू, पूर्व वन रक्षकहरू, विगतका निर्वाचनहरूमा म्यादी प्रहरीका रूपमा काम गरेका व्यक्तिहरू र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।
यसका साथै, यसअघिका निर्वाचनमा म्यादी प्रहरीका रुपमा भर्ना भई सन्तोषजनक रुपमा काम गरेका व्यक्तिले पनि प्राथमिकता पाउनेछन् । ४० दिनको कार्यअवधि रहने म्यादी प्रहरीका लागि आकर्षक पारिश्रमिक र सुविधाको व्यवस्था गरिएको छ ।
जसअनुसार तलब प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको जम्मा ३४ हजार ७७६ रुपैयाँ तोकिएको छ । यस्तै रासन बापतको रकम सम्बन्धित जिल्लाको दररेट अनुसार व्यक्तिगत बैंक खातामा उपलब्ध गराइने छ ।
तयारी खर्च शिर्षकमा एकमुष्ट ८४६ रुपैयाँ, खाजा खर्चका लागि प्रतिदिन ३०० का दरले ४ दिनका लागि एकमुष्ट १२०० रुपैयाँ, पोसाक खर्चका लागि प्रहरी प्रधान कार्यालयले तोकेको दररेट बमोजिम दिइने छ ।
ड्युटीको क्रममा घाइते वा मृत्यु भएमा सरकारले तोके बमोजिमको क्षतिपूर्ति र बिमा सुविधा समेत उपलब्ध हुनेछ । दरखास्त दिएका उम्मेदवारहरूले २०८२ माघ ४ गते बिहान ११ बजे सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क राख्नुपर्नेछ ।
छनोट प्रक्रिया माघ ५ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ भने अन्तिम नतिजा माघ १२ गते प्रकाशन गरिनेछ । सफल उम्मेदवारहरूको तालिम माघ १५ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।









