२६ पुष , काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय उपाध्यक्ष बनेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री पदबाट राजीनामा दिन गरेको अनुरोधलाई स्विकार्दै पूर्ण रूपमा राजनीतिमा आउने भन्दै मन्त्री वदबाट राजीनामा दिएका कुलमान घिसिङ र रास्वपा बिच अहिले सम्म सहमति हुन सकेको छैन ।
मन्त्री पदबाट राजीनामा दिँदा आफू कुनै पार्टीको सदस्य अहिले सम्म नरहेको दाबी कुलमानले गरेका थिए । रबी र बालेन साह एक भएपछि कुलमानलाई रबीकै पार्टीमा जान जेनजीहरुको समेत दबाब बढेको थियो ।
अन्तिम अवस्थामा आएर रबी, बालेर र कुलमान बिच उपसभापति पदमा कुलमान जाने सहमति भएको थियो । तर अहिले सम्म कुलमानले रास्वपाको साधारण सदस्य समेत लिई नसकेको दाबी गर्दै आएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ आबद्ध उज्यालो नेपाल पार्टीबिच घोषणा गरिएको एकता प्रक्रिया अझै निष्कर्षमा पुग्न सकेको छैन । मुख्यतः केन्द्रीय समितिमा प्रतिनिधित्वको सङ्ख्या र पूर्व सहमति कार्यान्वयनको विषयले एकता प्रक्रिया सङ्कटमा परेको जानकार स्रोतहरू बताउँछन् ।
एकता टुङ्ग्याउने उद्देश्यले शुक्रवार रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबिच लामो छलफल भए पनि सहमति जुट्न सकेन । छलफलमा सबैभन्दा ठुलो अवरोध केन्द्रीय समितिमा उज्यालो नेपाललाई दिने सदस्य सङ्ख्या बनेको सहभागी स्रोतको भनाइ छ ।
उज्यालो नेपालले एकतापछि आफ्ना तर्फबाट ३३ जना केन्द्रीय सदस्य राख्नुपर्ने प्रस्ताव अघि सारेको थियो । तर रास्वपा सभापति लामिछाने ११ जनाभन्दा बढी केन्द्रीय सदस्य दिन नसकिने अडानमा देखिएका छन् ।
“११ जनामा सीमित हुन कुलमान तयार देखिनु भएन,” उज्यालो नेपालका एक नेताले बताए । यस विषयमा सहमति नजुटेपछि कुलमान घिसिङले सोही साँझ आफ्ना पार्टीका नेताहरूलाई छलफलबारे ब्रिफिङ गर्दै “हालको अवस्थामा सहकार्य सहज देखिँदैन” भन्ने निष्कर्ष सुनाइसकेको स्रोतहरू बताउँछन् ।
यसले दुई पार्टीबिचको एकता झनै अन्योलमा परेको सङ्केत दिएको छ । रास्वपाको विधानअनुसार केन्द्रीय समिति १२९ सदस्यीय छ । बालेन शाह समूह प्रवेश गर्नु अघि पार्टीमा ५८ जना केन्द्रीय सदस्य मात्र थिए ।
त्यसपछि विवेकशील साझाबाट ७ जना, बालेन समूहबाट २६ जना केन्द्रीय सदस्य थपिएपछि हाल केन्द्रीय समितिमा सङ्ख्या ९१ पुगेको छ । अब अझै ३८ पद रिक्त छन्। यदि उज्यालो नेपालले माग गरेअनुसार ३३ जना केन्द्रीय सदस्य थपिए भने रिक्त पद ५ मा झर्नेछ ।
यस्तो अवस्थामा पुरानै समूहका केही सदस्य थपिँदा पनि रवि लामिछाने पक्षको सङ्ख्या करिब ६३ मा सीमित हुने गणना रास्वपा नेतृत्वको छ । केन्द्रीय समितिमा बहुमतका लागि ६५ सदस्य आवश्यक पर्ने भएकाले आफ्नो पक्ष अल्पमतमा पर्न सक्ने आशङ्काले रास्वपा नेतृत्व लचक देखिन नसकेको विश्लेषण गरिएको छ ।
एक सहभागी स्रोतका शब्दमा, “कुलमान आउँदा बालेन समूह पनि एकातिर उभिने र त्यसले पार्टीभित्र निर्णय लिन असहज बनाउने डर देखिन्छ ।”एकताका क्रममा उपाध्यक्षसहित उज्यालो नेपाललाई समानुपातिकतर्फ १८ जना उम्मेदवार समेट्ने सहमति भएको दाबी गरिँदै आएको छ ।
सोहीअनुसार कुलमान घिसिङले १८ जनाको नाम रास्वपा सभापतिलाई पठाएका थिए । तर अन्तिम सूचीमा १४ जना मात्र समावेश गरिएपछि उज्यालो नेपालभित्र असन्तुष्टि चुलिएको छ ।
पठाइएका चार नाम काटिएको र समावेश गरिएकाहरूलाई पनि सूचीको पछिल्लो क्रममा राखिएको भन्दै उज्यालो नेपालका नेताहरूले यसलाई “पूर्वसहमतको उल्लङ्घन” का रूपमा लिएका छन् ।
रास्वपा बाट सुधारको आश्वासन आए पनि त्यसप्रति विश्वास कमजोर रहेको उनीहरूको भनाइ छ । पदीय भागबन्डासँगै सैद्धान्तिक विषय पनि विवादको अर्को कारण बनेको छ ।
उज्यालो नेपालभित्र रहेका पहिचानवादी नेताहरू सङ्घीयता, धर्मनिरपेक्षता र पहिचानको विषयमा रास्वपाको स्पष्ट धारणा माग गरिरहेका छन् । केन्द्रीय समितिमा छलफल नै नगरी एकताको घोषणा गरिएको भन्दै उनीहरू संरक्षक कुलमान घिसिङसँग असन्तुष्ट देखिएका छन् ।
समानुपातिक बन्द सूची बुझाउने कानुनी समय सीमाले उज्यालो नेपाललाई थप दबाबमा पारेको छ । यदि सूची बुझाइसकेको अवस्था नहुँदो हो त अहिले एकता भङ्ग भइसकेको हुन सक्थ्यो भन्ने आन्तरिक विश्लेषण पार्टीभित्र भइरहेको छ ।
स्रोतका अनुसार, समानुपातिक सूची सच्याउन मिल्ने समय बाँकी रहेकाले आवश्यक परे रास्वपाको सहमति तोडेर नयाँ निर्णय लिने विकल्पबारे पनि आन्तरिक छलफल भइरहेको छ ।
तर एकता भङ्ग गर्दा आफ्नै पार्टीलाई कानुनी र राजनीतिक घाटा हुन सक्ने जोखिमका कारण नेतृत्व अझै निर्णायक कदम चाल्न हिचकिचाइरहेको देखिन्छ । यसैबिच, काठमाडौँको बौद्धस्थित एक होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटी बैठकमा कुलमान घिसिङले रवि लामिछानेसँग भएको पछिल्लो छलफल र त्यसको गाम्भीर्यबारे जानकारी गराएका छन् ।
बैठकमा रास्वपा नेतृत्व पूर्व सहमति कार्यान्वयनमा इमानदार नदेखिएको निष्कर्ष निकालिएको स्रोत बताउँछन् । रास्वपा सभापति लामिछाने व्यक्तिगत रूपमा सकारात्मक देखिए पनि पार्टीको ‘कोर टिम’ ले सहमतिप्रति दबाब महसुस नगरेको धारणा बैठकमा व्यक्त भएको छ ।
उज्यालो नेपालका अधिकांश नेताहरूले “अपमान सहेर एकता अगाडि बढाउन नसकिने” भन्दै ठोस निर्णय लिन नेतृत्वलाई दबाब दिइरहेका छन् ।








