विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

२८ पुष , काठमाण्डौ ।

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झर्दा भृकुटीमण्डपमा भने काँग्रेसका विशेष महाधिवेशन प्रतिनिधिहरुको राप तापले माहोल तताएको छ । यो तातोले महाराजगञ्जदेखि, गुण्डुसम्मै राप पुर्याएको छ ।

किनभने महाराजगञ्जमा शेखरसहितका बाँकी रहेका भाइहरुलाई लिएर देउवा अब कसरी अगाडि बढ्ने रणनीति बुनिरहेका छन् भने गुण्डुमा रहेका केपी ओलीका महासचिव शंकर पोखरेललाई औढा भएपछि लास र दास भन्ने गगन थापाको भनाइमा प्रतिक्रिया दिइसकेका छन् ।

खैर यतातिर धेरै नजाउ । भृकुटीमण्डप तर्फ लागौं । जहाँ जारी कांग्रेस विशेष महाधिवेशनमा प्रतिनिधिहरू आउने क्रम जारी छ । महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया सुरु भइसकेर प्रतिनिधिहरू बन्द सत्रमा प्रवेश गरिसकेका छन् ।

आज बन्द सत्रको सुरुवातमा विशेष महाधिवेशनको कार्यविधि निर्माणको तालिका छ । त्यसपछि नौ वटा समूह निर्माण गरी चार वटा विषयमाथि नीति मन्थन हुने कार्यक्रम छ । हिजो उद्घाटन सत्रमा बोलेका वक्ताहरुले सभापतिसहित उनी निकटका नेताहरुको पनि उपस्थिति खोजेका थिए ।

त्यसो हुँदा आज जसरी पनि देउवालाई भृकुटीमण्डपमा आउन उनीहरुले आग्रह गरेका थिए । तर देउवा आज पनि नजाने भएका छन् । यसबीच सामाजिक संजालमा भने देउवा आज जान लागेको चर्चा चलेको थियो ।

तर उनको सचिवालयले यसको खण्डन गरेको छ । देउवा आज विशेष महाधिवशेनमा सहभागी हुन भृकुटीमण्डप जाने भनी सामाजिक सञ्जालमा फैलिएको हल्ला गलत भएको उनको सचिवालयले स्पष्ट पारेको छ ।

केही व्यक्तिले भ्रम फैलाउने उद्देश्यले गलत सूचना प्रवाह गरेको भन्दै सभापति देउवाका स्वकीय सचिव भानु देउवाले यसमा कुनै सत्यता नरहेको बताएका हुन् । भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रममा सभापति देउवा सहभागी हुने कुनै कार्यतालिका नरहेको सचिवालयले जनाएको छ ।

स्वकीय सचिव देउवाले सामाजिक सञ्जालमा आएका आधारहीन सूचनाको पछि नलाग्न र भ्रममा नपर्न आग्रह गरे । गलत सूचना प्रवाह भएकोमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको समेत उनले उल्लेख गरिएको छ ।

यसअघि देउवालाई निम्ता दिन गएकाहरुलाई अपमान र दुव्र्यवहार गरेर निम्तासमेत कच्याककुचक पारेर पठाएको भन्दै निम्ता दिन गएकाहरुले दुखेसो पोखेका थिए । देउवा पक्षले जारी विशेष महाधिवेशनलाई अवैधानिक र राजनीतिक भनेर विरोध गरिरहेका छन् ।

भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहदा हिजो देउवासहितको समूह विशेष महाधिवेशनबाट आउने म्यान्डेडविरुद्धको रणनीतिमा ब्यस्त भए । यद्यपि ६२ प्रतिशत महाधिवेशन प्रतिनिधि भृकुटीमण्डपमा भेला भएपछि आत्तिएका कार्यबहाक सभापति पूर्णबहादुर खड्का र सधै झै दोधारे चरित्र निभाइरहेका डा शेखर कोइरालाले महामन्त्री गगन थापासँग संवादको पहल गरेका छन् ।

तर उनीहरु विशेष महाधिवेशनमा पुगेर त्यसको अपनत्व लिने बाहेकको प्रस्तावमा गगन सहमत हुने संभावना देखिएको छैन्। कांग्रेसको १४औं महाधिवेशनमा देउवालाई सभापतिमा निर्वाचित गरेका बहुमत प्रतिनिधि नै अहिले उनको विपक्षमा उभिएका छन् ।

चार वर्षअघिको महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइरालासमेत अहिले संस्थापन पक्षमै रहँदा पनि ६२ प्रतिशतभन्दा बढी प्रतिनिधि नीति र नेतृत्व परिवर्तनको मुद्दा बोकेर विशेष महाधिवेशनमा सहभागी भएका छन् ।

जबकी मंसिर ०७८ मा भएको १४औं महाधिवेशनमा देउवा ६० प्रतिशत मतसहित सभापति निर्वाचित भएका थिए, उनका प्रतिस्पर्धी कोइरालाका पक्षमा ४० प्रतिशत मत परेको थियो । यस्तोमा आफूलाई सभापतिमा जिताउने प्रतिनिधि नै विपक्षमा उभिँदा नेतृत्वमा रहिरहन अब सभापति देउवामाथि राजनीतिक र नैतिक दबाब बढेको छ ।

तर अझै पनि यसलाई विशेष महाधिवेशन नभनी भेलामा परिणत गरे सहमतिको सम्भावना हुने प्रवक्ता प्रकाशशरण महत बताउँछन् । विशेष महाधिवेशन बोलाउने नेताहरूले यसलाई नीति, संकल्प वा निर्वाचनको एजेन्डामा जे भने पनि आफैं व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

यता देउवाले तत्काल समाधान नदिए हलबाटै नयाँ नेतृत्व चयन गर्नुपर्ने मनस्थितिमा विशेष महाधिवेशनमा सहभागी प्रतिनिधि छन् । महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुभाष पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बन्दसत्रको सुरुमा विशेष महाधिवेशनको कार्यविधि बनाउने तालिका रहेको छ। त्यसपछि नौ वटा समूह निर्माण गरेर चार वटा विषयमाथि नीति मन्थन हुनेछ।

चार विषयहरूमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत् छलफल हुने पोखरेलले जानकारी दिए। नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे बृहत् छलफल हुनेछ यदि नेतृत्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया बढाइने पोखरेलले बताए। नयाँ कार्यसमिति निर्विरोध हुने सम्भावना रहेकोले मतदान गर्नु नपर्ने पोखरेलको धारणा छ।

महामन्त्री थापा पहिलेदेखि नै पार्टी नेतृत्व परिवर्तन नभई चुनावमा नजाने अडानमा छन् । केही समयअगाडि देउवाको हस्ताक्षरबाट आफूले प्रतिनिधिसभा निर्वाचनको टिकट नलिने सार्वजनिक उद्घोष नै गरेका थिए ।

अझै सहमति खोज्न अर्का महामन्त्री शर्माले कार्यवाहक सभापति खड्कामार्फत पहल गरिरहेका छन् । तर देउवाले विशेष महाधिवेशनबाट आउने सम्भावित परिणामबारे निकटस्थ नेताहरूसँग परामर्श गरिरहेका छन्, तर पद नछाड्न दबाब उनकै समूहका नेताहरूले दिइरहेका छन् ।

आइतबार भृकुटीमण्डपमा विशेष महाधिवेशन उद्घाटन भइरहेकै बेला देउवाले कार्यवाहक सभापति खड्का र केन्द्रीय सदस्य रमेश लेखकसँग छलफल गरेका थिए । नेता शेखर कोइरालासँग पनि उनी निरन्तर संवादमा छन् । यस्तोमा काँग्रेस अब कसरी अगाडि बढ्छ आज साँझसम्म प्रष्ट हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.