कांग्रेसमा जे गरे ७ भाइले गरे, विवादको जड ‘७ भाइ’

कांग्रेसमा जे गरे ७ भाइले गरे, विवादको जड ‘७ भाइ’

२९ पुष , काठमाण्डौ ।

नेपाली काँग्रेस यति बेला इतिहासकै सबैभन्दा जटिल र निर्णायक मोडमा उभिएको छ। सतहबाट हेर्दा पार्टीभित्रको विवाद सभापति शेरबहादुर देउवा र महामन्त्री द्वय गगन थापा तथा विश्वप्रकाश शर्माबिचको शक्ति सङ्घर्षजस्तो देखिन्छ।

तर यस विवादको गहिराइमा पुगेर हेर्दा वास्तविक द्वन्द्वको जड एक व्यक्तिमा होइन, ‘सात भाइ’ भनिने शक्तिकेन्द्रमा देखिन्छ, जसले वर्षौँदेखि देउवालाई घेराबन्दीमा राखेर निर्णय प्रक्रियामाथि प्रभाव जमाउँदै आएका छन् ।

यी सात भाइ हुन्, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, डा. शशाङ्क कोइराला, प्रकाशमान सिंह र पार्टी प्रवक्ता डा. प्रकाश शरण महत। देउवाको छत्रछायामा रहेर पटक–पटक पार्टी र सत्ताबाट अधिकतम लाभ लिएका यी नेताहरू अहिले पनि देउवालाई स्वतन्त्र निर्णय लिन नदिन सक्रिय देखिन्छन्।

यी सात भाइ मध्येका एक गोपालमान श्रेष्ठ राष्ट्रिय सभाको टिकट नपाएपछि देउवालाई छोडेर भृकुटीमण्डप तिर लागेका छन् । काँग्रेसको विधानले सभापतिलाई पार्टी सञ्चालनमा स्पष्ट अधिकार दिएको छ।

तर व्यवहारमा देउवाले विधानभन्दा बढी सात भाइको सल्लाहमा पार्टी चलाएको आरोप संस्थापन इतर मात्र होइन, संस्थापनभित्रकै मध्यमार्गी नेताहरूले पनि लगाउँदै आएका छन्। यही कारण आज बहुकाँग्रेसी नीति, नेतृत्व परिवर्तनको अवस्थामा पुगेका छन् ।

जेन–जी आन्दोलनपछि काँग्रेसभित्र नेतृत्व परिवर्तनको माग तीव्र रूपमा उठ्यो। सडकमा युवाको असन्तोष पोखियो, पार्टी कार्यालय र नेताहरूको निवाससम्म त्यसको प्रभाव देखियो। देउवा स्वयं आफ्नै निवासमा कुटिए ।

निवास परिसरमा जलेका नोटका बिटाले पार्टी र उनको छविलाई गम्भीर धक्का दियो। यही घटनापछि देउवाले सक्रिय राजनीतिबाट अलग हुने र पार्टी सञ्चालनका लागि कार्यवाहक सभापति तोक्ने घोषणा गरे।

त्यो घोषणा काँग्रेसका लागि एउटा नयाँ मोड हुन सक्थ्यो। तर यहीँबाट सात भाइको भूमिका झन् निर्णायक बन्दै गयो । पार्टी विभाजनको सङ्घारमा पुगीसक्दा पनि छ भाइले देउवालाई घेरा बन्दीमा नै राखी रहेका छन् ।

६ भाइलाई साथ दिई रहेकी छिन् देउवा पत्नी आरजु राणाले । उनी पनि ६ भाइका कुरामा हँ मा हँ मिलाई रहेकी छिन् । १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न देउवाको आशीर्वाद उनीहरूका लागि अनिवार्यजस्तै देखिन्छ।

यही स्वार्थले उनीहरूलाई देउवाको निर्णय क्षमतामाथि निरन्तर दबाब सिर्जना गर्न प्रेरित गरिरहेको छ। अहिले देउवाको साथमा रहेकामध्ये कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले अघिल्ला महाधिवेशनहरूमा सभापति बन्न प्रयास गरे।

तर देउवाको आशीर्वादबिना पार्टीको सर्वोच्च पद नपाइने निष्कर्षमा पुगेर उनीहरू पुनः देउवाकै समूहमा फर्किए । डा. शशाङ्क कोइरालाको यात्रा पनि यस्तै छ। १३औँ महाधिवेशनसम्म अलग धारमा रहेका शशाङ्कले १४औँ महाधिवेशनमा डा. शेखर कोइरालालाई साथ नदिएर देउवालाई जित्न सहज गराइदिए ।

त्यसको ‘प्रतिफल’ स्वरूप १५औँ महाधिवेशनमा देउवाको साथ खोज्दै उनी पनि यही घेराभित्र समेटिए। विजयकुमार गच्छदार र प्रकाश शरण महतको लक्ष्य झन् स्पष्ट छ, लाभको पद। यसमा सबैभन्दा अब्बल खेलाडीको रूपमा प्रकाशमान सिंहलाई हेरिन्छ।

जेन–जी आन्दोलनपछि काँग्रेसभित्र नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने बहस चर्कियो। साथै, फागुन २१ को निर्वाचनअघि कि पछि महाधिवेशन गर्ने भन्ने प्रश्न पनि उठ्यो। सात भाइ निर्वाचनपछि मात्र नियमित महाधिवेशन गर्ने पक्षमा उभिए।

यसमा स्वार्थ पनि प्रस्ट थियो फागुन २१ मा पार्टीको तर्फबाट वितरण हुने निर्वाचन टिकट र १५औँ महाधिवेशनमा देउवाको आशीर्वाद पाएर नेतृत्वमा पुग्ने सम्भावना । आफ्नो निजी स्वार्थ पुरा गर्न यी नै सात भाइले शेर बहादुरलाई घेरा बन्दीमा पारी रहे ।

पार्टीको सम्पूर्ण जिम्मेवारी सहित तोकिएको समय भित्र नै महाधिवेशन गर्नु भन्दै देउवा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर विदेश तिर लागेका थिए । तर यी नै सात भाइले पुर्णवहादुरलाई असफल बनाउन खेल खेले ।

शेरबहादुर उपचारबाट फर्केपछि फेरी तिनै घाइते शेरबहादुरको काँधमा बन्दुक राखेर पड्काउन थाले । र शेर बहादुरलाई जबरजस्ती सक्रिय बनाए । सात भाइभन्दा केही फरक स्वभावका पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएपछि पार्टीभित्र नियमित महाधिवेशनका लागि छलफल सुरु भयो।

यही बेला सिंगापुरमा रहेका देउवालाई पुनः सक्रिय गराउने र यता नियमित वा विशेष कुनै पनि महाधिवेशन हुन नदिने माहौल बनाउन सात भाइ सक्रिय भए। अन्ततः सक्रिय राजनीतिबाट बिदा भइसकेका देउवालाई यही समूहले पुनः पार्टीको आन्तरिक र बाह्य राजनीतिमा फर्कायो।

अनेक बहाना र अवरोध खडा गरेर पुस अन्त्यसम्ममा नियमित महाधिवेशन गराउने देउवाको योजना असफल बनाइयो। उनीहरूको मुख्य उद्देश्य जेन–जी आन्दोलनपछि चर्किएको नेतृत्व परिवर्तनको मुद्दालाई ओझेलमा पार्नु थियो।

किनकि यस्तो माहौलमा महाधिवेशन भए सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका गगन थापा हाबी हुने निश्चित देखिन्थ्यो। त्यसैले सकेसम्म महाधिवेशनको समय लम्ब्याइयो । र यसमा उनीहरू सफल पनि भए।

पुस अन्त्यको कार्यपालिका नियोजित रूपमा यी सात भाइले असफल बनाए । मङ्सिर १५ गते पार्टीले पुस अन्त्यमा नियमित महाधिवेशन गर्ने कार्यपालिका पारित ग¥यो। तर त्यही दिनदेखि प्रवक्ता प्रकाश शरण महतले नियमित महाधिवेशन हुन नसक्ने र सर्ने सङ्केत दिन थाले। योजना अनुसार नै तल्लो तहदेखि हुनुपर्ने तयारी रोकियो।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत नियमित महाधिवेशन फागुन २१ को निर्वाचनपछि वैशाखमा सार्न सात भाइ सफल भए। तर उनीहरूले एउटा तथ्य बेवास्ता गरे, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै बुझाएको निवेदन।

तर देउवालाई देखाएर महाधिवेशन धकेल्दा निर्वाचनको मुखमा कसैले टिकट जोखिममा पार्दैन भन्ने सात भाइको अनुमान गलत साबित भयो। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी थाले र तोकिएको मितिमै सुरु पनि गरे।

उनीहरूलाई रोक्न सात भाइले शेखर कोइरालालाई भागबन्डाको लोभ देखाए। राष्ट्रिय सभाका सात सिटमध्ये तीन सिट आफ्ना मान्छेलाई दिने सहमतिपछि आफ्नै अडानमा टिक्न नसकेका डा शेखर पनि लोभिए ।

बाहिर आफूलाई विशेष महाधिवेशन पक्षधर भएको देखाएपनि भित्रभित्रै उनी सात भाइ र देउवाकै विचारमा सहमत भए । यसबीच देउवा, शेखर र सात भाइको अर्को अनुमान पनि गलत भयो,महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आउँदैनन् भन्ने।

निर्वाचनमा मतदाताको घर–दैलोमा जाँदा पार्टीको नीति र नेतृत्वबारे प्रश्नको जवाफ दिन नसक्ने अवस्थामा पुगेका प्रतिनिधिहरूले गुट हेरेनन् । देउवा, शेखर, सिटौला सबै समूहका प्रतिनिधिहरू विशेष महाधिवेशनमा सहभागी भए।

हिजो देउवालाई सभापति बनाउन मतदान गरेकाहरुले नै गगन र विश्वलाई समर्थन गरे । उनीहरूले नीति मात्र होइन, नेतृत्व नै बदल्ने कार्यविधि पारित गरे। त्यसपछि पार्टी फुटको दोषबाट पन्छिन सोमबार छ भाइ ‘अब मिलाउने जिम्मा तपाईँको’ भन्दै देउवा र पूर्णबहादुरलाई चक्रब्यूहमा हालेर आफैलाई अवसरवादी सिद्ध गर्दै पन्छिए।

विशेष महाधिवेशनको उद्घाटन मात्र होइन, बन्द सत्र सुरु भइसकेको छ। नियमित महाधिवेशन नभएसम्मका लागि नयाँ कार्यसमितिको निर्वाचन गर्ने स्पष्ट व्यवस्था कार्यविधिमा समेटिएको छ। नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भइसकेको छ ।

आजै रातीसम्म मतदान गर्ने गरी निर्वाचन तालिका नै निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ । महाधिवेशन प्रतिनिधिहरूले आफूहरू नेतृत्व परिवर्तन गरेर जिल्ला फर्कन आएको भन्दै वार्ता नभई नयाँ नीति र नेतृत्व भन्दै गगन–विश्वलाई खबरदारी गरिरहेका छन्।

यस्तो अवस्थामा देउवा वा पूर्णबहादुरले नेतृत्व चयनको प्रक्रिया रोक्ने सम्भावना कति रहन्छ त्यो हेर्न केही समय पर्खनु पर्ने हुन्छ । झट्ट हेर्दा विवाद देउवा र महामन्त्रीद्वयबीच देखिए पनि गहिराइमा जाँदा यसको केन्द्रमा सात भाइ र त्यसभित्र पनि कृष्णप्रसाद सिटौला देखिन्छन्।

असोज २५ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा उनले सक्रिय राजनीतिबाट अलग भइसकेका देउवालाई पुनः चलायमान बनाउने भूमिका खेले। आज काँग्रेसभित्र ‘एकताको बाधक को ?’ भन्ने प्रश्न उठ्दा संस्थापन इतर मात्र होइन, संस्थापनभित्रकै मध्यमार्गी नेताहरूको औँला सिधै सिटौलातर्फ ठडिन्छ ।

अब महाधिवेशन प्रतिनिधिले सभापति देउवालाई नै बिदा गर्ने प्रक्रिया सुरु गरेपछि ६ भाइले बाटो तताइसकेका छन् । यस्तो बेला देउवा आफै बाहिर निस्कन्छन् कि ६ भाइकै चङ्गुलमा रहिरहन्छन् भन्ने हो ।

यदि उनी अब पनि बाहिर निस्कन सकेनन् भने २३ वर्षपछि पार्टी विभाजनको अर्को अपजस उनले नै जीवनभर बोक्नुपर्नेछ। विशेष महाधिवेशनले बनाएको बाटो स्वीकार गर्ने कि पुनः अवरोध खडा गर्ने भन्ने निर्णयले देउवाको राजनीतिक बहिर्गमन सम्मानजनक हुन्छ कि विवादास्पद र कथित रुपमा अपमानजनक भन्ने निर्धारण गर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.