३० पुष , काठमाण्डौ।
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले नेतत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको बताएका छन् ।
देउवा समूहको केन्द्रीय समितिको बैठकले उनी र अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितलाई पाँच वर्षका लागि निष्काशनको निर्णय गरेलगत्तै थापाले पार्टीको आधिकारीकनै विशेष महाधिवेशन पक्षधर रहेको बताएका हुन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका दुई महामन्त्री र एक सहमहामन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीको विधान र अनुशासन उल्लंघन गरेको भन्दै महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको जानकारी दिएका हुन्।
विश्वकर्माका अनुसार मुलुक विषम परिस्थितिमा रहेको र पार्टीको महाधिवेशनको संघारमा रहेको अवस्थामा महामन्त्रीद्धय र सहमहामन्त्रीले विधान विपरितका गतिविधि गरेको ठहर बैठकले गरेको छ।
विशेषगरी फागुन २१ गते हुने संसदीय दलको निर्वाचन र महाधिवेशनको प्रक्रिया चलिरहँदा पार्टीको आधिकारिक निर्णय बिना नै काठमाडौंमा छुट्टै भेला आयोजना गरेको, कार्यकर्तालाई भड्काएको र समानान्तर गतिविधि सञ्चालन गरेको आरोप उनीहरूमाथि लगाइएको छ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा १ तथा धारा ५० (५) आकर्षित हुने गरी उनीहरूमाथि कारबाही गरिएको छ। कारबाहीका लागि बैठकले ४ आधार प्रस्तुत गरेको छ ।
१. समानान्तर अभ्यासः केन्द्रीय कार्यसमितिको संस्थापन पक्ष र कार्यालयसँग सहमति नभई विधानका धाराहरूको गलत व्याख्या गर्दै काठमाडौंमा विशेष कार्यक्रम र भेला आयोजना गरेको।
२. अनाधिकृत महाधिवेशन घोषणाः मिति २०८२÷०९÷२९ गते ’विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२’ भन्दै अनाधिकृत रूपमा पारित गरेको र महामन्त्रीद्धयले संयुक्त प्रतिवेदन पेश गरी छलफल गराएको।
३. समानान्तर निर्वाचन तालिकाः निर्वाचन समिति गठन गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको र आज (मिति २०८२÷०९÷३०) गते महामन्त्री पदमा रहेका पदाधिकारीले पार्टी सभापति र अन्य पदमा उम्मेदवारी घोषणा गरी दरखास्त समेत दिएको।
४. पार्टीलाई हानि नोक्सानीः पार्टीको आदर्श, सिद्धान्त र नीति विपरित कार्य गरेको तथा पार्टीलाई प्रत्यक्ष÷अप्रत्यक्ष हानि नोक्सानी पु¥याएको।
यी गतिविधिहरू पार्टी विधानको धारा ३४ (१) को खण्ड (क), (ख), (ग) र (घ) विपरित रहेको ठहर गर्दै उनीहरूलाई विधानको धारा २२ उपधारा २० तथा धारा ३४ को उपधारा ८ बमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको हो।
निर्णय नं. १ः कार्यसम्पादन समितिका निर्णय अनुमोदन
बैठकले हालसम्म पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेका सम्पूर्ण निर्णयहरूलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
निर्णय नं. २ः पदाधिकारीमाथि कारबाही (निष्कासन)
पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेको ठहर गर्दै महामन्त्री गगन कुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई आजकै मितिबाट लागू हुने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएको छ।
निर्णय नं. ३ः अन्यलाई मूलधारमा फर्कन आह्वान
कारबाहीमा परेका बाहेक अन्य पदाधिकारी तथा सदस्यहरू, जो भ्रममा परी वा लैलैमा लागेर पार्टी हित विपरितका गतिविधिमा संलग्न थिए, उनीहरूलाई अनुशासनको दायरा सम्झाउँदै पार्टीको मूलधारमा फर्कन र नियमित काममा क्रियाशील हुन बैठकले हार्दिक अपिल गरेको छ।
कारबाही फुकुवाको सम्भावनाबारे पत्रकारको जिज्ञासामा प्रवक्ता विश्वकर्माले सम्बन्धित व्यक्तिले चित्तबुझ्दो स्पष्टीकरण वा पुनरावेदन गरेमा केन्द्रीय कार्यसमितिले भविष्यमा सुनुवाइ गर्न सक्ने बाटो भने खुला रहेको संकेत गरेका छन्।
निष्काशनमा परेपछि गगनले बन्द सत्रमा सम्बोधन गर्दै नयाँ कार्यसमिति बैठकले चयन गर्ने बताएका छन् । उनले कुनैपनि संवादमा आफूलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न नभनेको समेत बताएका छन् ।
उनले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग भइसकेको बताएका छन् । उनले विशेष महाधिवेशन बारे निर्वाचन आयोगलाई समेत जानकारी दिइसकिएको भन्दै आफूहरु वैधानिक र संवैधानिक रुपमा ठीक ठाउमा रहेको भन्दै काग्रेस कसैको निजी कम्पनी नभएको बताएका छन् ।
उनले कसैले जा भन्दैमा नजाने समेत बताएका छन् । उनले कारबाही अघि आफूलाई स्पष्टीकरण किन सोधिएन भन्ने प्रश्न समेत गरेका छन् । ‘हामीलाई कारबाही गरेको सुनेका छौं,’ थापाले भने, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ। २०६२÷०६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ । कसैले हटायौं भनेर हट्ने होइन ।’
उनले कांग्रेस नफुटेको भन्दै कांग्रेस यही भएको बताएका छन् । यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको कारबाहीका बाबजुदत आफूहरु कांग्रेस र देशलाई बदल्ने प्रयासमा दृढ रहेको बताएका छन्।
नेपाली कांग्रेसले उनी र अर्का महामन्त्री गगन थापालाई कारबाहीको निर्णय गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘मेरो प्रतिक्रिया केवल यत्ति छ–कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म, दुवै दृढ छौँ। बिधान अनुरूपको बिशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको छ, अब सहि नेतृत्व दिनेछ।’ शर्माले सहमतिका लागि नेतृत्वसँग राखेका ८ बुँदा सार्वजनिक गर्दै ‘कुन बुँदा कांग्रेस र देशको अहितमा थियो र छ’ भन्दै प्रश्न समेत गरेका छन्।










