नेपाल-मलेसिया श्रम असमझदारीको प्रभाव : रोजगारीमा जाने ९० प्रतिशतले घटे

नेपाल-मलेसिया श्रम असमझदारीको प्रभाव : रोजगारीमा जाने ९० प्रतिशतले घटे

काठमाडौं,कात्तिक १६
मलेसियाका सरकारी अधिकारीहरु समेतको मिलेमतोमा नेपाली वैदेशिक रोजगार व्यवसायीले नेपाली कामदारलाई ठूलो व्ययभार पर्ने गरी शुल्क उठाउने गरेको भन्दै सरकारले मलेसियामा लागि श्रम स्वीकृति दिन बन्द गरिदिएपछि चालु आर्थिक बर्षको पहिलो २ महिनामा वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको संख्यामा ९० प्रतिशत गिरावट आएको छ । उक्त अवधिमा कुल २ हजार ३०२ जना मात्र वैदेशिक रोजगारीको लागि मलेसिया गएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५–७६ को दुई महिनाको समीक्षामा उक्त अवस्था देखिएको हो । अघिल्लो आर्थिक वर्षको सोही समयमा २३ हजार ३६२ जना व्यक्ति वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका थिए ।

उक्त अवधिमा मलेसियासँगै कतार, युएई, साउदी अरब, ओमान, अफगानिस्तान, जापान, दक्षिण कोरिया लगायतका देशमा जाने कामदारको संख्यामा गिरावट आउँदा कुल संख्यामा ४१ प्रतिशतले गिरावट आई ३८ हजार ४५० जनामा झरेको छ ।

कुवेत, बहराइन लगायत अन्य देशहरुमा जाने कामदारको संख्यामा भने सामान्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा ७ प्रतिशतले गिरावट आएको थियो ।

समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिने कामदारको संख्या समेत घटेर २९ हजार १०१ कायम भएको छ । अघिल्लो बर्ष ३२ हजार २७१ जनाले सो अवधिमा पुनः श्रम स्वीकृति लिएका थिए ।

नेपालले एकतर्फी रुपमा गत जेठ महिनादेखि मलेसियाको लागि श्रम स्वीकृति दिन बन्द गरेको थियो । हाल नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता भई मलेसिया जान चाहने कामदारको लागतमा भारी कटौती गरिदिने सम्झौता भएपछि नेपाल र मलेसियाबीचको श्रम सम्बन्ध सुमधुर हुने र मलेसिया जाने नेपाली कामदारको संख्यामा बढोत्तरी हुने विश्वास लिइएको छ ।(विकास न्युजबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.