विराटनगर, कार्तिक २०
विराटनगरमा यस वर्ष सयपत्री फूलको अभाव देखिएको छ । तिहारमा विशेष गरी सयपत्री फूलको बढी प्रयोग गरिन्छ । अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष बजारमा फूल नपाइएको उपभोक्ताहरु बताउँछन् । सयपत्री फूल लक्ष्मीपूजा गर्न र दाजुभाइलाई लगाइदिने चलन छ ।
बजारमा अहिले प्रतिगोटा २० रुपैयाँदेखि ३० रुपैयाँसम्म माला किनबेच भैरहेको छ । यो पटक दीपावली ढिलो भएको र भाइ–तिहारका लागि भनि लगाएको फूल पनि फुलिसकेकाले फूलको अभाव भएको हो ।
विराटनगर बजारमा कलकताबाट फूल आयात हुने गरेको छ । स्थानीयस्तरमा फूल खेती नभएकाले भारतबाट फूल आयात गर्ने गरेको व्यापारीहरु बताउँछन् । यस्तै फूलको अभाव भएपछि विराटनगर बजारमा अहिले फूलका मालाको सट्टा कृतिम फूलहरुबाट बनेका मालाहरुको खरिदबिक्री गर्ने क्रम बढ्न थालेको छ ।
प्राकृतिक फूल भन्दा बजारमा रहेका कृतिम फूलका मालाहरु सस्तो पाइने भएकाले पनि प्रयोग बढेको व्यवसायीहरुको भनाइ छ । यसवर्ष पनि तिहार पर्व केही ढिलो पर्नुले पनि गाउँघरमा फुलेका फूलहरु सुक्न थालेपछि कृतिम माला किन्नेहरुको चाप बढेको छ ।
अहिले विराटनगर बजारमा ३० रुपैयाँदेखि २ सयसम्मका कृतिम फूलका मालाहरु बिक्रीका लागि राखिएको स्थानीय व्यापारी महेश साहले जानकारी दिए । देख्दा पनि झपक्क देखिने र टीका र माला लगाई सकेपछि ती मालाको अनिवार्यता नहुनाले पनि कृतिम मालाको माग बढेको माला खरिदगर्न बजार पुगेकाहरुले बताएका छन ।