काठमाडौँ,कात्तिक २१
सत्रौँ एसियाली खुला कराते च्याम्पियनसिपमा सहभागी हुन बङ्गलादेश जाने खेलाडिलाई आज विदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एक कार्यक्रम गरी तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोलीलाई बिदाई गरेको हो ।
खेलाडीलाई बिदाई गर्दै राखेप सदस्य–सचिव केशवकुमार विष्टले सफलताको शुभकामना दिए । यही कात्तिक २३ देखि २५ गतेसम्म सो प्रतियोगिता बङ्गलादेशको ढाकामा हुँदैछ ।
प्रतियोगिताको पुरुषमा राकेश महर्जन र भीमबहादुर थापा तथा महिलामा आस्मी तामाङले खुला तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
अन्तर्राष्ट्रिय कराते अर्गनाइजेसन (आईकेओ) क्योकुसिनकाइ, बंगलादेशको आयोजनामा हुने प्रतियोगितामा राजु तुलाधरले टिम व्यवस्थापक तथा चन्द्रश्याम डंगोल प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् । नेपाली टोली बुधबार बंगलादेशको ढाका जानेछ ।