काठमाडौं,कात्तिक २६
दक्षिण अफ्रिकी पूर्व क्रिकेट खेलाडी एवं प्रशिक्षक जन्टी रोड्स नेपाली खेलाडिलाई प्रशिक्षण दिन काठमाडौँ आएका छन् ।
त्रिभुवन विश्वविद्यालयको खेल मैदान किर्तीपूरमा यही बुधवारदेखि १० दिनसम्म चल्ने प्रशिक्षण शिविरमा १७ वर्ष र १९ वर्षमुनिका युवाहरुलाई लक्षित गरिएको छ ।
रोड्सले काठमाडौंमा हुने यो हाई पर्फर्मेन्स शिविरले उमेर समुहमा उत्कृष्ट नेपाली क्रिकेटलाई सिनियर राष्ट्रिय टोलीसम्म विस्तार गर्न सहयोग गर्ने विश्वास लिएका छन् ।
नेपालका पूर्व राष्ट्रिय क्रिकेटहरुले सञ्चालन गरेको नेपाल क्रिकेट स्कुल र स्पोट्र्स एड प्रा.लि.ले आयोजना गरेको यो प्रशिक्षण शिविरमा रोड्सलाई वेष्ट इंडीज र अफ्गानिस्तानका पूर्व फिल्डिङ प्रशिक्षक रायन मारोनले पनि सहयोग गर्नेछन् ।
दक्षिण अफ्रिकी राष्ट्रिय टोलीबाट ५२ टेस्ट म्याच र २ सय ४५ एक दिवसिय क्रिकेट म्याच खेलेका रोड्स आफ्नो समयका उत्कृष्ट फिल्डरको रुपमा चिनिन्छन् । युवा प्रशिक्षण शिविरको एक दिन अगाडि रोड्सले भोलि नेपालका क्रिकेट प्रशिक्षकहरुलाई पनि तालिम दिंदैछन् ।
रोड्स विगत १० वर्षदेखि इण्डीयन प्रिमियर लिग (आईपिएलं) क्रिकेटको शिर्ष टोली मुम्बई इण्डीयन्सको फिल्डिङ प्रशिक्षकको रुपमा कार्यरत छन् ।