काठमाडौं, कात्तिक २९
म्यानमारमा भएको सन् २०२० ओलम्पिक छनोट अन्तर्गत एसियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहीबार स्वेदश फर्केको छ ।
नेपाली टोलीलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद राखेपका नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिना, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले स्वागत गरे ।
नेपाल ओलम्पिक छनोटमा सहभागिताको पहिलोपल्ट नै दोस्रो चरणमा पुग्न सफल भएको हो । स्वदेश फर्किएपछि नेपाली टोलीका प्रशिक्षक हरि खड्काले महिला फुटबलमा लगानी बढाउँदा अझै राम्रो प्रदर्शन गर्न सक्ने बताए ।
कप्तान निरु थापाले उच्च वरीयताका टोलीविरुद्ध राम्रो खेल्न सक्षम भएको भन्दै आउँदो अप्रिलमा हुने दोस्रो संस्करण र साफ च्याम्पियनसिपको तयारीमा लाग्नुपर्ने बताए ।
म्यानमारमा भएको पहिलो चरणको छनोटमा नेपालले समूह चरणमा अपराजित रहँदै दोस्रो चरणमा स्थान बनाएको हो । नेपालले भारत, म्यानमार र बंगलादेश तीनै देशसँग समान १–१ गोलको बराबरी खेलेको थियो ।