पूर्व विश्व विजेता स्पेनमाथि क्रोएसियाको रोमान्चक जित

पूर्व विश्व विजेता स्पेनमाथि क्रोएसियाको रोमान्चक जित

एजेन्सी, कात्तिक ३०
यूईएफए नेसन्स लिग अन्तर्गत बिहीबारको खेलमा विश्व उपविजेता क्रोएसियाले पूर्व विश्व विजेता स्पेनलाई ३–२ ले पराजित गरेको छ ।

क्रोएसियाको घरेलु मैदान माकसिमिरमा बिहिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा क्रोएसियालाई जिताउन टिन जेडभाजले २ तथा एन्ड्रिज क्रामारिकले १ गोल गरे । स्पेनका ड्यानियल सेवालस र सर्जियो रामोसले गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा पाँच गोल सम्भव भएको थियो ।

खेलको ५४औं मिनेटमा एन्ड्रिज क्रामारिकले इभान पेरिसिकको पासमा गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । तर, त्यसको दुई मिनेटपछि नै ड्यानियल सेवालेसले इस्कोको पासलाई सदुपयोग गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

टिन जेडभाजले कप्तान लुका मोड्रिचको पासलाई गोलमा परिणत गरेपछि ६९औं मिनेटमा क्रोएसियाले खेलमा फेरि २–१ को अग्रता लिएको थियो । स्पेनका कप्तान सर्जियो रामोसले पेनाल्टी गोलमार्फत ७८औं मिनेटमा पुनः बराबरीमा ल्याउन सफल भए । क्रोएसियाका भर्साल्जकोले डि–बक्समा ह्यान्ड गरेपछि स्पेनले पेनाल्टीको मौका पाएको थियो ।

बराबरीतर्फ धकेलिएको खेलको इन्जुरी समयको थप गरिएको तेस्रो मिनेटमा टिन जेडभाजलेले गोल गर्दै क्रोएसियालाई ३–२ को सघंर्षपूर्ण जित दिलाए ।

जितपछि समुह ४ मा रहेको क्रोएसियाले दोस्रो चरण पुग्ने सम्भावनालाई बलियो बनाएको छ । क्रोएसियाको ४ अंक रहँदा पराजित स्पेनको ६ अंक तथा इंग्ल्यान्डको ४ अंक रहेको छ । अहिलेसम्म तीन टोलीको दोस्रो चरण पुग्ने सम्भावना जीवित नै रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.