बाजुरा, कात्तिक ३०
गौमुल गाउँपालिका–४ बस्ने एक महिलाकी सात महिने नाबालिका छोरीलाई एक सातादेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको पाइएको छ ।
सातमहिने नाबालिकालाई एक सातादेखि हिरासतमा राखिएको प्रति आफन्तले आपत्ति जनाएका छन् । नेपालको संविधानले १० वर्षमुनिका बालबालिकालाई यातना दिन नपाइने अभिवक्ता हर्क खडायतले बताए ।
प्रहरी नायब उपरीक्षक उद्धबसिंह भाटले नाबालिकाकी आमा कमला रोकायालाई सोही वडाकी सङ्गीता रोकायाले ठगी मुद्दा दायर गरेपछि महिला प्रहरीको सेफ हाउसमा राखिएको जानकारी दिइन् ।
उनले सो वडामा रहेको बालविकास केन्द्रमा कर्मचारी राख्ने विषयमा विवाद हुँदा ठगीको उजुरी परेपछि पक्राउ गरिएको बताइन् ।
नाबालिकालाई एक सातादेखि हिरासतमा राख्दासमेत जिल्लामा बालबालिकाका क्षेत्रमा कार्यरत सङ्घसंस्था तथा अधिकारकर्मीले चासो नदेखाएको आफन्तको आरोप छ । रासस