काठमाडौँ, मंसिर २
शुक्रबार रिलिज भएका दुई नेपाली चलचित्र ‘दैलो’ र ‘गुनगुन’ ले घरेलु बजारमा सुखद व्यापार गरेको निर्माताले जानकारी दिएका छन् । सिंगल स्कृनमा मात्र रिलिज भएका दुबै फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलेको बताइएको छ । शुक्रवार औसत रहेको दुई चलचित्रको कलेक्सन ग्राफ शनिबार केही माथि देखिएको छ ।
निर्देशक, कलाकार तथा निर्माता सुरेश उप्रेतीले ‘दैलो’ को ‘वर्ड अफ माउथ’ राम्रो रहेको बताउँदै भने -‘शनिबार चलचित्रले देशभर सुखद व्यापार गरेको छ । सकारात्मक प्रतिक्रिया पाएका कारण आइतबारबाट दर्शक बढ्नेमा विश्वस्त छौं ।’
अर्जुन उप्रेती तथा यसोदा उप्रेतीद्धारा निर्माण गरिएको चलचित्रमा सुरेश उप्रेती बाहेक दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ ।
अर्को नेपाली चलचित्र ‘गुनगुन’ का निर्देशक, कलाकार तथा निर्माता पुकार भट्टराईले पनि पनि दर्शकको अपेक्षालाई पूर्ण गरेको बताउँछन् ।
उनी भन्छन्, – परिक्षामा सफल भइएला वा असफल भन्ने डर थियो । दर्शकले फिल्म रुचाइदिनु भएको छ । व्यापार पनि राम्रो छ ।
त्रिकोणात्मक प्रेमकथा वाचन गरेको चलचित्रमा ‘गुनगुन’ मा सञ्चिता लुइँटेल, रविन्द्रप्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, पुकार भट्टराई, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारीलगायतको अभिनय छ ।









