विराटनगर,मंसिर २
पछिल्लो समययता विराटनगर क्षेत्रमा भएका श्रृंखलाबद्ध लुटपाटका घटनामा संलग्न २ अभियुक्तलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएका अभियुक्तहरुलाई मोरङ प्रहरीले आज पत्रकार सम्मेलनगरी सार्वजनिक गरेको छ ।
पक्राउ गरिएका अभियुक्तहरुमा सप्तरी शम्भुनाथ घर भई विराटनगर १२ शान्तिचोकमा डेरागरि बस्दै आएका २३ बर्षिय शिवराम चौधरी र विराटनगर ८ का २५ बर्षिय समिर कामत रहेका छन ।
उनिहरु मोटरसाईकलको प्रयोग गरेर सडक हिडिरहेका सर्वसाधारणबाट नगद बोकेको झोला,मोबाईल र बहुमुल्य बस्तु लुटेर भाग्ने गरेका थिए । अभियुक्तहरुले कात्तिक १४ गते कटहरी २ का निरज श्रेष्ठको साथबाट मोबाईल लुटेका थिए ।

उनिहरुले कात्तिक १६ गते आरके चिल्ड्रेन अस्पताल अघिल्लतिरबाट कानेपोखरीकी हिना राजवंशीबाट १८ हजार ४ सय नगद,मोबाईल र घडी लुटेका थिए । यस्तै कात्तिक २५ गते विराटनगर ७ की चन्द्रकला बस्नेतले बोकी राखेको नगद सहितको झोला र मोबाईल लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
अभियुक्तहरुलाई सार्वजनिक गदै मोरङ प्रहरी प्रमुख मनोजकुमार केसीले पक्राउ गरिएका अभियुक्तहरुको साथबाट घटनामा प्रयोग भएको मोटरसाइकलसहित लुटिएको सामाग्री बरामद भएको बताए ।

उनले पक्राउ गरिएका अभियुक्तहरुमध्ये शिवराम चौधरी संयुक्त अरब इमिरेट्समा समेत अपराध गरेर फरार भएको अभियुक्तकोरुपमा पहिचान भएको जानकारी दिए । पक्राउ परेका अभियुक्तहरुलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।