काठमाडौँ, मंसिर ३
सर्वाधिक शेयर हात पार्ने राजधानीको अष्टनारायण हलले शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेत्री संचिता लुईटेल स्टारर फिल्म ‘गुनगुन’ शनिबार हटाएपछि निर्देशक तथा निर्माता पुकार भट्टराईले आपत्ति जनाएका छन् । उनले राम्रो व्यापार हुने दिन (शनिबार) फिल्म हटाएको भन्दै हल सञ्चालकलाई कारवाहीको माग गरेका छन् ।
उनले निर्मातालाई जानकारी विना नै फिल्म हटाएको र कारवाहीको माग गर्दै आइतबार चलचित्र निर्माता संघमा लिखित पत्र बुझाएका छन् । निर्माताको फिल्म निर्माण र प्रदर्शन गर्ने हक–अधिकारलाई वञ्चित गरि मनोमानी गरेकाले अष्टनारायण हललाई कानुनको दायरामा ल्याएर क्षतीपूर्तीसहित कडा कारवाही गर्न निर्देशकद्धारा लेखिएको पत्रमा भनिएको छ ।
निर्माता भट्टराईले धेरै पीडित निर्माताको प्रतिनिधित्व गर्दै हल सञ्चालकलाई कारवाहीको माग गरेको बताए । यस्तो घटनाको ‘गुनगुन’ एक प्रतिनिधि उदाहरणमात्र हो । ठूला भनिएका सिंगल थिएटरबाट नेपाली निर्माताले पटक–पटक यस्तो सास्ती खेप्दै आएका छन् ।
यसअघि गोपीकृष्णले ‘रामकहानी’ माथि गरेको थियो तर यो एउटा उदाहरणमात्र हो । फिल्ममा सञ्चिता र पुकारका अलावा रविन्द्रप्रताप सेन, सुवास मेचे लगायतको अभिनय छ ।









