रियल भालाडोलिडसँग साँघुरो जित निकाल्दै सेभिल्ला ला लिगाको शीर्षस्थानमा

रियल भालाडोलिडसँग साँघुरो जित निकाल्दै सेभिल्ला ला लिगाको शीर्षस्थानमा

एजेन्सी, मंसिर १०
स्पेनिस ला लिगा अन्तर्गत आईतबार रियल भालाडोलिडलाई पराजित गर्दै सेभिल्ला तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान स्टाडीयो रामोन सान्चेज पिजुआनमा भएको खेलमा सेभिल्ला १–० ले विजयी रहयो ।

खेलको ३० औं मिनेटमा पाब्लो सराबियाको क्रसमा आन्द्रे सिल्भाले हेडर मार्फत गोल गर्दै सेभिल्लालाई अग्रता दिलाएका थिए । खेलको सुरुवाती समयदेखि नै दबाब बनाएको सेभिल्लाले थप गोल गर्न भने सकेन । खेलको अन्तिम समयमा गोलरक्षक थोमा वाक्लिकले उत्कृष्ट बचाउ गर्दै सेभिल्लाको ३ अंक जोगाएका थिए ।

यो सँगै सेभिल्ला शीर्षस्थानमा उक्लिएको छ ।शनिबार एटलेटिको म्याड्रिडको घरेलु मैदानमा बार्सिलोना र एटलेटिकोको खेल १–१ को बराबरीमा टुंगिएपछि सेभिल्लालाई शीर्षस्थानमा जाने अवसर जुरेको थियो । हालसम्म एकपटक मात्र लिग उपाधि जितेको सेभिल्ला डिसेम्बर महिनाको सुरुवातसम्म लिगको शीर्षस्थानमा रहनेछ ।

लिग तालिकामा सेभिल्ला १३ खेलमा २६ अंक सहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको बार्सिलोनाले २५ अंक जोडेको छ ।त्यस्तै एटलेटिको म्याड्रिड २४ अंकसहित तेस्रोे स्थानमा छ ।सेभिल्लाले अब बिहीबार हुने यूईएफए युरोपा लिगको खेलमा बेल्जीयन क्लब स्टान्डर्ड लिएज सामना गर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.