विराटनगर मंसिर १०
सुचना प्रबिधिको प्रयोग अदालती काम कारवाहीमा समेत प्रयोग हुन थालेपछि पछिल्लो समय अदालतको काम कार्वाही र सेवा प्रवाह फेरिएको छ । इन्टरनेट प्रबिधिको प्रयोगले झन्झटिलो कामकाजी प्रकृया अन्त भएकोले अदालतको कामकाजमा सुधार आएको हो ।
जसका कारण अदालती सेवा छिटो,छरितो ,पारदर्शी बन्दै गएको छ । विराटनगरमा रहेका उच्च र जिल्ला अदालतले पनि सुचना प्रविधिको प्रयोग वढाएका छन ।यी कार्यालयहरुले अनलाइनबाट म्याद तामेली गर्ने र तारेख लिने गरेका छन् । जसका कारण अदालती कामकाज छिटोछरितो र पारदर्शी हुन पुगेको छ ।
२०६७ बाट सर्वोच्च अदालतले मात्र कम्प्युटर प्रबिधिको इन्टरनेट मार्फत कामकाज गर्न र सेवा प्रबाह गर्न थालेको थियो । हाल प्रदेश र जिल्लामा रहेका उच्च र जिल्ला अदालतमा पनि इन्टरनेट प्रयोगको बिस्तारसँगै अदालतको कामकाज र सेवा प्रबाहमा दु्रत रुपले सुधार आउन थालेको उच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिए ।
उनले अदालतले संचालन गरेको आधिकारिक बेवसाइट‘सुप्रिमकोर्ट डट जीओभी डट एनपी’मा गएर जो कोहीले चाहेको जानकारी सहजै लिन पाइन्छ । उक्त बेवसाइट प्रयोग गरेर दैनिक र साप्ताहिक पेशी सूची हेर्न,आदेश र फैसलाको जानकारी लिन र पूर्णपाठ हेर्ने सकिनेछ ।
आफनो इन्टरनेट र अनलाइन सेवालाई प्रभावकारी बनाउन अदालतले सवै फाँटमा दक्ष प्राबिधिकको दरबन्दी व्यवस्था गरेको छ । सवै इजलास अगाडि वा परिसरमा डिस्प्ले मनिटर राखेर मुद्दाको अवस्थाबारे जानकारी गराउन थालेको छ ।
जसका लागि अदालत परिसरमा ४ वटा डिस्प्ले मनिटर जडान गरिएको छ । उनले आजकल इन्टरनेट सेवा बिस्तार भएपछि सबैले घर वा कार्यालयमा बसीबसी हातमा रहेको मोवाइल वा कम्प्युटर मार्फत फैसलाको बारेमा सहजै रुपमा जानकारी लिने गरेको जानकारी दिए ।
अनलाइनबाटै म्याद तामेली र तारेख
उच्च अदालत विराटनगरका अनुसार अदालती सेवाका लागि अहिले घरमा बसी सेवाग्राहीले अनलाइनबाटै म्याद तामेली गर्न र तारेख लिन पाउने छन । त्यसकालागि पहिले मुद्दादर्ता भएको अदालतमा आफनो फोटोसहितको बायोडाटा भर्नुपर्दछ ।
बायोडाटा भरिसकेपछि सेवाग्राहीले सम्बन्धित जिल्ला अदालतमा निबेदन दिएपछि अनलाइनबाटै तारेख र म्याद तामेली हुन्छ । यो सेवा देशका सबै तहका अदालतमा सुचारु भैसकेको छ ।
हाल उच्च अदालत बिराटनगरमा मात्र हप्तामा ६० देखि ७० जनाले अनलाइबाटै म्याद तामेली गर्ने र तारेख लिने काम गरिरहेको उच्च अदालतका अभिलेख फाँटका नायव सुव्वा ओमराज सुबेदीले जानकारी दिए ।
उनले इन्टरनेटको प्रयोगबाट अदालती सेवाबारे जानकारी बिस्तार हुदै गएपछि त्यो सँख्या अझै बढदै गएको जानकारी दिए । अदालतले मुद्दाको जानकारी लिन आदेश र फैसला हेर्नकालागि सर्बसाधारणकालागि निशुल्क बेवपेज उपलव्ध गराएको छ । तर, अनलाइनबाट म्याद तामेली गर्न र तारेख लिन चाही आन्तरिक सफ्टवेयर प्रयोग गर्ने गरेको छ ।
अदालतमा वकपत्र,मुद्धाको दर्ता र सुनवाई लगायतका सेवाका लागि भने सेवाग्राही अदालतमै पुग्नु पर्नेछ । कानुनी बिषय अध्ययन गर्ने, दस्ताबेजहरु खोज्ने पढने र जाहेरी , निबेदन र फिरादपत्र आदि बिभिन्न लिखतहरु तयार पार्नकालागि पनि सहयोग पुग्न थालेको छ । अधिबक्ता पुरुषोतम नेपालले अदालतको वेवसाइट खोलेर कुन तहको कुन अदालतमा कहिले मुद्दाको पेशी,इजलासबाट भएको फैसला लगायतका जानकारी लिन पनि सहज भएको बताए ।