विराटनगर, मंसिर १२
मोरङको कटहरी गाउँपालिकाका वडाध्यक्ष कपुरलाल माझीले प्रहरीबाट आफूहरु कुटिएको गुनासो गरेका छन् । प्रहरीसंग भएको विवादलाई लिएर न्याय माग्न जिल्ला प्रशासन कार्यालय मोरङ पुग्दा आफूहरुमाथि कुटपिट भएको वडाध्यक्षसहित स्थानीयले आरोप लगाएका हुन् ।
मंगलबार जनप्रतिनिधिसहित जिल्ला प्रशासन कार्यालयमा छलफल गर्न पुगेका कटहरी १ का वडाध्यक्ष कपुरलाल माझी सहित एक दर्जन भन्दा बढीलाई प्रहरीले कुटेको स्थानीयले दावी गरेका छन् ।
ट्राफिक चेकजाँचको नाममा प्रहरीले रकम असुली गरेको आरोप समेत उनीहरुले लगाएका छन् । सोमबार राती कटहरी १ महेशपुरको चौधरी टोलमा मापसे चेकीङ गर्ने क्रममा प्रहरीले स्थानीयमाथि कुटपिट गरेपछि मंगलबार छलफलका लागि जिल्ला प्रशासन कार्यालय आएको समयमापनि पुन आफूहरु कुटिएको स्थानीय देवराज चौधरीले बताए ।
प्रहरीले पक्राउगरेका अनन्तराम चौधरी, जोगनारायण चौधरी, सवदनारायण चौधरीलाई रिहा गर्न प्रशासनसंग छलफलका लागि जा“दा जिल्ला प्रशासनकै परिसरभित्र प्रहरीले आफूहरुमाथि कुटपिट गरेको कटहरी १ का वडाध्यक्ष कपुरलाल माझीले बताए ।
पक्राउ परेकाहरुलाई रिहा गर्न माग गर्दै उनीहरुले जुलुस समेत प्रदर्शन गरेका थिए । यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक कृष्ण खड्काले भने उनीहरुले मादक पदार्थ सेवन गरेर ट्राफिक चेकजाँच गर्न नदिएको र सामान्य विवाद भएको बताएका छन् ।
मादक पदार्थ खाएर होहल्ला गरी प्रहरीलाई अभद्र व्यवहार गर्ने ३ जनालाई नियन्त्रणमा लिइ कारवाही प्रकृया अगाडि बढाइएको पनि उनले बताएका छन् । सो क्रममा केही प्रहरीहरुमाथि पनि स्थानीयले कुटपिट गरेको खड्काले बताएका छन् ।