एजेन्सी, मंसिर १२
जरी यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह जी को पाँचौ खेलमा रियल म्याड्रिडले एएस रोमालाई २–० ले पराजित गर्दै शिर्ष स्थानमा कब्जा जमाएको छ ।
रियल म्याड्रिडका लागि दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । मंगलबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि रियलले दोस्रो हाफको सुरुवातमै अग्रता बनाउन सफल भयो ।
खेलको ४७ औं मिनेटमा ग्यारेथ बेलले डिफेन्डर फेडेरिको फाजियोको गल्तिको फाइदा उठाउँदै रियललाई सुरुवाती अग्रता दिलाए । यो उनको पछिल्लो पाँच च्याम्पियन्स लिग खेलमा पाँचौ गोल थियो । ५९ औं मिनेटमा लुकास भाज्केजले दोस्रो गोल गर्दै रियलको जित पक्का गरे ।
जितसँगै अंक तालिकामा रियल शीर्ष स्थानमा रहने पक्का भएको छ । रोमा पनि दोस्रो स्थानमा रहँदै अर्को चरण पुगेको छ ।यस सफलतासँगै रियल लगातार १५ औं सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।
सन् २००३–०४ यता यस्तो सफलता हात पार्ने रियल एक्लो टोली हो । रोमाले पनि रियलविरुद्ध पछिल्लो चार खेलमा पराजित हुँदै कुनै गोल गर्न सकेको छैन ।