विराटनगर,मंसिर १२
लामो समयदेखि विद्युत महसुल तिर्न अटेरी गर्ने विराटनगरका २ सय ९५ औद्योगिक ग्राहकको लाइन काटिएको छ ।नेपाल विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्रले साढे २ महिना अवधिमा निजी ट्रान्सफर्मर राखेर विद्युत सेवा लिँदै आएका औद्योगिक ग्राहकको लाइन काटेर कारवाही गरेको हो ।
वितरण केन्द्र प्रमुख राजीव सिंहका अनुसार ६० दिनको महसुल बुझाउन बाँकी रहेका औद्योगिक ग्राहकको लाइन काटिएको हो । लाइन काटिने ग्राहकले तिर्नु पर्ने बाँकी बक्यौता १ करोड ८० लाख ४८ हजार ५ सय ९५ रुपैयाँ पुगेको उनले बताए । उनले भने– ‘२ महिनासम्म महसुल नतिर्ने ठूला ग्राहकको लाइन काटिरहेका छौं’।
लामो समयदेखि महसुल नतिर्ने कोशी अञ्चल अस्पतालको पनि लाइन काटेर महसुल असुल गरिएको छ ।कारवाहीमा परेका २ सय ७० ग्राहकले महसुल बुझाएर लाइन जोडेको पनि सिंहले बताए ।
कारवाहीमा परेका औद्योगिक ग्राहकबाट ९२ लाख २० हजार ३ सय ७३ रुपैयाँ महसुल उठेको छ । थप ८९ लाख रुपैयाँ अझै उठ्न बाँकी रहेको वितरण केन्द्रले जनाएको छ । अस्पतालले १ करौड रुपैयाँ तिर्न बाँकी रहेकामा ५० लाख रुपैयाँ बुझाएको छ ।