एजेन्सी, मंसिर १२
बलिउड अभिनेत्री प्रियंका चोपडा र सिंगर निक जोनासको विवाहमा सहभागी हुन हलिउडका चर्चित अभिनेता ड्वायन जोनसन भारत आउने भएका छन् ।
भारतीय मिडियाका अनुसार प्रियंका र निकको बिहेमा सहभागी हुन विशेष पाहुनाको रुपमा उनी आउने पक्का भएको छ । उनी बुधबार साँझसम्म मुम्बई पुग्ने खबर छ ।
ड्वेयनलाई ‘द रक’ नामबाट चिन्ने गरिन्छ । प्रियंका, ड्वेयनसँग पहिलो हलिउड फिल्म ‘बेवाच’ मा देखिएकी थिइन् । यसका अलावा निक पनि गएको वर्ष फिल्म ‘जुमान्जी स् वेलकम टू द जंगल’ मा ड्वेयनसँग देखिएका थिए ।
दीपिका पादुकोण र रणवीर सिंहको जसरी नै प्रियंका र निकको विवाह पनि दुई रितिरिवाजबाट हुनेछ । एक डिसेम्बरमा पहिला निक जोनासको धर्म अनुसार क्रिश्चियन रितिरिवाजबाट हुनेछ । यसको अर्को दिन हिन्दु रितिरिवाज अनुसार दुईले सातफेरो लिनेछन् ।
विवाहका लागि निकका भाई जो जोनास आफ्नी श्रीमती सोफी टर्नरसँग भारत पुगिसकेका छन् । बुधबार साँझसम्म निकका माता पिता पनि भारत पुग्ने बताइएको छ । निक विवाहका लागि भारतमै रहेका छन् ।
बिहेपछि ४ डिसेम्बरमा दुईले दिल्लीमा एक ग्रान्ड रिसेप्सन दिँदैछन् । प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीमा हुने रिसेप्सन पार्टीमा सहभागी हुनसक्ने जनाईएको छ । अभिनेत्री प्रियंकाभन्दा निक १० वर्ष कान्छा छन् ।









