काठमाडौँ, मंसिर १३
‘छक्का पञ्जा’ सिरिजका तीनवटै सिरिजले सफलताको शिखर चुमेका छन् । कलेक्सनमा रेकर्ड त बनाएका छन् नै साथमा सबै फिल्मले ५१ दिन पनि सजिलै पार गरेका छन् । ‘छक्का पञ्जा’ ले भने सय दिन नै मनाएको थियो । दोस्रो फिल्मले ५१ औं दिन र हाल प्रदर्शनरत ‘छक्का पञ्जा ३’ ले पनि बिहीवारबाट प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ ।
निर्माता तथा कलाकार दीपकराज गिरीका अनुसार दशैंको घटस्थापनाबाट प्रदर्शनमा आएको ‘छक्का पञ्जा ३’ ले १३ वटा हलमा सफलतापूर्वक ५१ औं दिन मनाएको हो । उपत्यकामा फिल्मले मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल, बिग मुभिज, एफक्युब, बिजी मल तथा सिंगल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स, गुण सिनेमा, गंगा सिनेमा, गोपीकृष्ण मुभिज र बाराही मुभिजमा ५१ औं दिन मनाएको हो ।
यसैगरि मोफसल अन्तर्गत कालिका सिनेमा, क्युएफएक्सको जलमा नारायणगढ र बागेश्वरी नेपालगञ्ज तथा विन्दवासिनी सिनेमा पोखरामा पनि फिल्मले ५१ औं दिन पार गरेको जनाईएको छ । चलचित्र निर्माण टिमले ५१ औं दिनको सेलिब्रेसन आइतबार एक कार्यक्रमका बीच गर्ने तयारीमा छ ।
छक्का पञ्जाका तीनै सिरिज दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । फिल्मले ५१ औं मनाउँदै गर्दा ‘छक्का पञ्जा ३’ ले ८ करोड ग्रस कलेक्सन गरेको राजधानी वितरक मनोज राठीले जानकारी दिए । यस्तै, मोफसल वितरणको जिम्मा लिएको एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जनले फिल्मले ९ करोड ग्रस कमाइ गरेको बताए ।
वितरकबाट प्राप्त रिपोर्टलाई टेक्ने हो भने उपत्यका र मोफसलबाट फिल्मले हालसम्म १७ करोड ग्रस कलेक्सन गरिसकेको छ । यो सिरिजको पहिलो भागको लाइफटाइम कलेक्सन १५ करोड नेट थियो । यो सँगै ‘छक्का पञ्जा ३’ नेपाली फिल्म इतिहासमा नै सर्वाधिक कलेक्सन गर्ने फिल्म बनेको छ । फिल्ममा दिपकराज गिरी, दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, नीर शाहलगायतको प्रमुख भूमिका रहेको छ ।









