एजेन्सी,मंसिर १३
युएईमा जारी टी–१० क्रिकेट लिग अन्तर्गत नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित केरला किङसले सुपर लिगको दोस्रो खेलमा आज (बिहिबार) नर्दन वारिवर्ससंग प्रतिस्पर्धा गर्दैछ ।
सारजाहमा केरला र वारिवर्सबीचको खेल नेपाली समय अनुसार बेलुका ५ः१५ मा सुरु हुनेछ । ४ खेलबाट ३ अंक जोडेर सातौं स्थानमा रहेको केरलालाई प्ले अफ सम्भावना जीवित राख्न केरलालाई जित्नै पर्ने दबाब छ । साविकको विजेता समेत रहेको केरला जित निकाल्दै प्ले अफमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ भने वारिवर्स केरलालाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।
सुपर लिग अन्तर्गतको पहिलो खेलमा केरला पन्जाबी लिजेन्ड्ससंग ३६ रनले पराजित भएको थियो । वारिवर्सविरुद्ध नेपालका लेग स्पिनर सन्दीपले सुरुवाती ११ मा स्थान बनाउने पक्का जस्तै छ । सन्दीपले ४ खेलमा ६ विकेट लिईसकेका छन् । पन्जाबीविरुद्ध भने सन्दीप विकेट बिहिन बने । उनले सो खेलमा २ ओभरमा २८ रन खर्चिएका थिए ।
यसअघि सन्दीपले पहिलो खेलमा पख्तुनविरुद्ध २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए । जुन खेलमा उनी प्लेयर अफ दि म्याच समेत बनेका थिए । दोस्रो खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै १४ रन खर्चिएर १ विकेट लिएका थिए भने तेस्रो खेलमा सन्दीपले राजपुट्सविरुद्ध २ ओभर बलिङ गर्दै २३ रन खर्चेर २ विकेट लिएका थिए ।