एजेन्सी,मंसिर १४
जरी युरोपा लिग अन्तर्गत समूह ‘एल’को बिहीबार भएको खेलमा चेल्सीले पाओक सलोनिकालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ ।फ्रान्सेली फरवार्ड ओलिभिएर जिरुडले दुई गोल गरेपछि चेल्सीलाई जित निकाल्न सहज भएको हो ।
खेलको सातौं मिनेटमा नै ग्रीक टोली पाओक १० खेलाडीमा सिमित भएको थियो । ओलिभिएर जिरुडलाई गोल गर्ने अवसरबाट बन्चित गर्न फल गरेपछि रेफ्रीले उनलाई सिधारी रातो कार्ड देखाएका थिए । जिरुडले नै २७ औं मिनेटमा पेड्रोको पासमा उत्कृष्ट फिनिसको नमुना प्रस्तुत गर्दै चेल्सीको लागि पहिलो गोल गरे ।
पहिलो हाफमा नै चेल्सीले अग्रता दोब्बर पार्यो । ३७ औं मिनेटमा मिडफिल्डर सेस फाब्रीगासको चिप पासमा जिरुडले उत्कृष्ट भली प्रहार गर्दै २–० को अग्रता दिलाए ।
चेल्सीले दोस्रो हाफमा पनि आक्रमण जारी राख्यो । ६० औं मिनेटमा १८ वर्षीय मिडफिल्डर क्यालम हड्सन ओडोईले गोल गरे । खेल सकिन १२ मिनेट बाँकी छँदा वैकल्पिक खेलाडी अल्भारो मोराटाले गोल गर्दै ४–० को जित पक्का गरे । मोराटाले हड्सन ओडोईको क्रसमा हेडरमार्फत गोल गरेका हुन् ।
चेल्सी प्रशिक्षक मौरीजियो सार्रीले टोटेनहमसँग पराजित भएको टोलीबाट १० खेलाडी परिवर्तन गरेका थिए । मोराटाको स्थानमा आएका जिरूडले राम्रो प्रदर्शन गरे ।
चेल्सीले युरोपा लिगको लगातार पाँच खेल जित्दै यस नतिजा हासिल गर्ने दोस्रो इंग्लिस टोली बनेको छ । यसअघि टोटेनहमले पनि सन् २०१३–१४ मा यस सफलता हासिल गरेको थियो । चेल्सीले सन् २०१० नोभेम्बरयता लगातार ५ युरोपेली खेल जितेको छ ।
सन् २००९–१० मा प्रतियोगिताको नाम युरोपा लिग राखेयता १८ वर्ष २२ दिनका हड्सन ओडोई गोल गर्ने सबैभन्दा युवा खेलाडी भए । अंक तालिकामा चेल्सीको ५ खेलमा १५ अंक छ भने बाटे बोरिसोभ र मोल भिडीको ६–६ अंक छ । पाओकको ५ खेलमा ३ अंक छ ।