विराटनगर,मंसिर १४
विराटनगर विमानस्थलमा विमान उडान र अवतरणका क्रममा हुनसक्ने दुर्घटनाजन्य आगालागीका घटनालाई नियन्त्रण गर्ने उद्धेश्यले शुक्रबार प्रयोगात्मक अभ्यास गरिएको छ ।
आगलागीको अवस्था श्रृजना गरेर विमानस्थलमा उद्धार र आगो नियन्त्रणको अभ्यास गरिएको हो । आपतकालीन अवस्थामा आइपर्नसक्ने जोखिमलाई न्युनिकरण गर्न अभ्यास गरिएको हो ।
अभ्यासमा विमानस्थलमा कार्यरत सुरक्षा निकाय,नागरिक उड्डयन कार्यालयका कर्मचारी र विभिन्न एयरलाइन्सका कर्मचारी सहभागि भएका छन । अभ्यासको क्रममा विराटनगर विमानस्थल रनवेको पुर्वदक्षिणतर्फको खाल्डोमा पेट्रोल खन्याएर आगलागीको अवस्था श्रृजना गरिएको थियो ।
त्यसअघि नै बारुणयन्त्रलाई तयारी अवस्थामा राखिएको थियो भने अग्नि नियन्त्रक कर्मचारीहरु समेत आवश्यक उपकरण सहित तम्तयार अवस्थामा थिए । लगत्तै अभ्यासमा खटिएका कर्मचारीले पेट्रोल खन्याइएको खाल्डोमा आगो सल्काउने वित्तिकै विमानस्थलमा जडान भएको आपतकालिन साइरन बजेको थियो ।
सो साइरन बज्नसाथ अभ्यासमा खटिएका अग्नि नियन्त्रक कर्मचारी र एम्बुलेन्स आगलागीस्थलतर्फ दौडिएका थिए । अभ्यासका क्रममा खटिएका अग्नि नियन्त्रकहरुले दन्दनी सल्केको आगो दुई मिनेट भित्रै पुर्णरुपमा नियन्त्रणमा लिएका थिए भने काल्पनिक घटनामा घाइते भएका यात्रुका आकृतिहरुलाई एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगेका थिए ।
विमानस्थलमा हुनसक्ने दुर्घटना र आगलागीको जोखिमलाई तत्काल न्युनिकरण कसरी गर्ने भन्ने जानकारीका लागि पुर्नताजगि पूर्वअभ्यास गरिएको विमानस्थलका प्रमुख टेकनाथ सिटौलाले जानकारी दिए ।