काठमाडौँ,मंसिर १४
ओस्कर अवार्ड विजेता चर्चित हलिउड अभिनेता मोर्गन फ्रिम्यान गुपचुप काठमाडौं आएका छन् । उनी ‘द स्टोरी अफ गड’ नामक टेलिभिजन श्रृङ्खलाको छायांकनका लागि नेपाल आएका खबर छ । युनिभर्सिटी अफ नर्थ टेक्ससले आफ्नो आधिकारिक ट्वीटरमार्फत फ्रिम्यान नेपालमा रहेको जानकारी दिएको छ ।
उनी नेपाल रहँदा विभिन्न ठाउँको भ्रमण गर्नुका साथै फरक–फरक धर्महरुको बारेमा समेत जानकारी लिने जनाईएको छ । उनको टेलिभिजन श्रृङ्खलाको प्रमुख उद्देश्य विश्वभरका मानिसमा रहेको विश्वासले उनीहरुको जीवनलाई आएको परिवर्तन बुझ्नु रहेको बताइएको छ ।
मोर्गनले छायांकन गर्ने टेलिभिजन श्रृङ्खला नेशनल जियोग्राफि च्यानल मार्फत प्रशारण गरिने छ । ८१ वर्षीय फ्रिम्यानले चर्चित हलिउड फिल्मे ‘गोइङ इन स्टाइल’, ‘स्ट्रीट स्मार्ट’, ‘ग्लोरी’, ‘द रिडम्पशन’, ‘ब्रूस अलमाइटी’ लगायतमा अभिनय गरेका छन् । उनले ‘इन्भिक्टस’ मा दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको भूमिका निर्वाह गरेका थिए ।
हलिउडमा सर्वाधिक कमाइ गर्ने कलाकार समेत रहेका उनलाई फिल्म ‘गोइङ इन स्टाइल’ की एक महिला प्रोडक्शन असिस्टेन्टले यौन शोषणको आरोप समेत लगाएकी थिइन् ।









