काठमाडौं, मंसिर १५
नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ सम्मिलित टिसी स्पोट्र्स क्लबले माल्दिभ्सको शीर्ष डिभिजन लिगको उपाधि जितेको छ ।
टिसी स्पोट्र्सले माल्दिध्सको शीर्ष डिभिजन लिग ‘धिवेही प्रिमियर लिग’को उपाधि जितेको हो । प्रतियोगितामा किरणे सर्वोत्कृष्ट गोलरक्षक पनि चुनिए ।
१६ खेलमा १३ जित १ बराबर र २ हारसहित ४० अंक जोड्दै किरणको टोलीले उपाधि जित्न सफल भएको हो ।दोस्रो स्थानमा रहेको माजियाले १६ खेलमा ३८ अंक जोडेको छ ।
अन्तिम चरणको खेलसम्म पनि दोस्रो स्थानको माजियाले टिसीलाई चुनौती दिएको थियो । अन्तिम चरणको खेलमा माजिया र न्यु रेडीयन्टले ४–४ को बराबरी खेलेपछि टिसी आफ्नो अन्तिम खेल अगाडी नै विजेता हुने पक्का भएको थियो ।
टिसी स्पोट्र्सले अन्तिम खेलमा क्लब इगल्ससँग ४–४ को बराबरीमा रोकियो । यो लिगमा टिसीको पहिलो बराबरी थियो । लिगको अघिल्लो खेलमा माजियासँग ४–२ ले पराजित भएपछि टिसीको उपाधि दावेदारिता कमजोर भएको थियो । तर माजियाले न्यु रेडीयन्टलाई हराउन नसकेपछि टिसीले अन्तिम खेल अगावै उपाधिमा कब्जा गरेको हो ।
लिग अवधिभर खेलेका १६ खेल मध्य ११ खेलमा क्लिन सिट राख्न सफल भएको किरणको टोलीले जम्मा ५ खेलमा मात्र गोल खाएको थियो । पराजित भएको दुई खेलमा माजियासँग ४–२ र गरिन स्ट्रिटसँग २–१ ले पराजित टोलीले अन्य खेलमा ५–१ र ६–१ को जित र ४–४ को बराबरीमा गोल खाएको हो । किरणले यसै प्रदर्शनलाई आधार मानेर सर्वोत्कृष्ट गोल रक्षकको उपाधि पनि हात पारे ।
किरणले गतवर्ष मिन्नरेभा पन्जाबबाट खेल्दै भारतको आई–लिग उपाधि पनि जितेका थिए । नेपालमा हुँदा रुस्लान थ्री स्टारबाट राष्ट्रिय लिग जितेपछि विदेश लागेका किरणले टिसी स्पोट्र्सबाटै दुई वर्षअघि बंगलादेशमा सम्पन्न शेख कमल अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि पनि जितेका थिए ।
बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा टोलीको कप्तानी समेत गरेका किरणको प्रदर्शन प्रभावशालि रहँदै आएको छ । उनी नेपालको उत्कृष्ट गोलरक्षक मानिन्छन् ।