विराटनगर, मंसिर १५
मोरङ जिल्लाबाट आठौं राष्ट्रिय खेलकुदका लागि टेबलटेनिसतर्फ १० जना खेलाडी छनौट भएका छन् । शुक्रबार र शनिबार दुईदिनसम्म जिल्ला टेबल टेनिस संघले आयोजना गरेको छनौटका क्रममा महिला तथा पुरुषबाट समान पाच जना खेलाडी छनोट गरिएको संघका अध्यक्ष रोशन दत्तले जानकारी दिए ।
अध्यक्ष दत्तका अनुसार, जिल्ला छनौटमा २० जना खेलाडीको सहभागिता रहेको थियो । संघले शनिबार अन्तिमदिन पुरुषतर्फ करण राई, सन्तोष काफ्ले, वोधित डि.सी., राहुलकुमार साह र राजेश भट्टराई छनौट भएको जनाएको छ ।
त्यस्तै महिलातर्फ एलिना राई, पुष्पा पुडासैनी, सम्वृद्धी लुइटेल, अंजली मंडल तथा पूजा दंगाल छनौट भएको अध्यक्ष दत्तले बताए । वैकल्पिक खेलाडीमा पुरुष तर्फ प्रवेश न्यौपाने तथा महिला तर्फ अंशु श्रेष्ठ छनौट भएका छन् ।
मंसिर अन्तिममा हुने भनिएको प्रदेश स्तरीय खेलकुदका लागि निष्पक्ष र सही खेलाडी छनौट गरिएको मोरङ जिल्ला टेवल टेनिस संघका अध्यक्ष दत्तको भनाइ छ ।
जिल्लामा गरिएको छनौटका लागि राष्ट्रिय खेलकुद परिषद्द्धारा बिनियोजन गरिएको ५ लाख ९० हजार रुपैया अपूग हुदा खेलाडी उत्पादनमा समस्या भएको मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष किशोरलाल अमात्यले बताए । आठौं राष्ट्रिय खेलकुद नेपालगञ्जमा हुदैछ ।