विराटनगर,मंसिर १७
राजनितिक विश्लेषक डा. सीके लालले विधिको शासन भएको राज्यमा कुनै जनताले असहमति जनाए त्यसको सुनुवाई हुनुपर्ने भएपनि नेपालमा त्यस्तो नभएको बताएका छन् । उनले हरेक नागरिकलाई त्रास हैन उसले स्वतन्त्रता पूर्वक आफना भनाई राख्न पाउनुपर्ने र राज्यले त्यसको सुनुवाई गर्नुपर्ने भएपनि सरकारले त्यस्ता भनाई नै राख्न नदिई त्रास देखाउने गरेको आरोप लगाए ।
नर्थ साउथ कलेक्टिभले विराटनगरमा सोमबार आयोजना गरेको जेलिएको संघीय लोकतन्त्र नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै लालले यस्तो बताएका हुन । निरन्तर खोजी गरिनु नै लोकतन्त्र भएको बताउदै उनले नागरिक असन्तुष्ट हुनु र असन्तुष्टिहरु निरन्तर जान्न खोज्नु नै लोकतन्त्र भएको बताए ।
राजनितिक दलको दलदलमा नफसेको संगठनले सिमित अधिकारका कारण राज्यलाई सचेत गराउन नसक्ने पनि उनको भनाई थियो । त्यस्तै दलित सरोकार मञ्चका भोला पासवानले दलितहरुको अधिकारप्रति राज्य गम्भीर नभएको बताए । उनले धारामा पानी छोएकै कारण दलितहरु मारिनुपर्ने अवस्था अझै कायम रहेको बताए ।
कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता अमिना सिंहले विभेदकारी संरचनाका कारण महिला शसक्तिकरणमा समस्या भएको बताईन् । कार्यक्रममा नेपाल आदिवासी महासंघका दिलबहादुर थेबे, डा देवेन्द्रराज पाण्डे, लेखक खगेन्द्र संग्रौला, नर्थ साउथ कलेक्टिभका अध्यक्ष भास्कर गौतमलगायतले आफ्ना भनाई राखेका थिए ।