काठमाडौँ,मंसिर १७
काठमाडौँ इन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिभल ‘किम्फ’को सोहौँ संस्करणको मसिंर २१ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय सभा गृह र नेपाल पर्यटन बोर्डमा आयोजना हुने किम्फ मसिंर २१ गते देखि २५ गतेसम्म ( ७ देखि ११ डिसेम्बेर )हुने छ ।
यसपटक नेपाल लगायत ३१ वटा देशहरुका ७० भन्दा बढी फिल्महरु देखाइँदैछ । यो वर्ष पनि किम्फमा वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, प्रयोगवादी र एनिमेसन फिल्महरू देखाइने छन् । काठमाडौं महानगरपालिका सह आयोजक रहेको किम्फ २०१८ को ट्यागलाइन ‘वुमन मुभ माउन्टेन्स’ भन्ने रहेको छ ।
जसको उद्देश्य समाजमा महिलाको भूमिका र सहभागिता फिल्मको माध्यमद्वारा अगाडि ल्याउनु हो ।“महोत्सवमा देखाइने फिल्म तथा कार्यक्रमहरुले दर्शकलाई मनोरञ्जन दिनुका साथै आम नेपाली जनतालाई प्रभाव पारिरहेको विषयवस्तुहरु माथि पनि चर्चा परिचर्चा हुने किम्फका अध्यक्ष बसन्त थापाले बताउछन् ।
किम्फको उद्घाटन अष्टेलियाली निर्देशक जेनिफर पिडमको डकुमेन्ट्री “माउन्टेन”को विशेष प्रर्दशनीबाट सुरु हुनेछ । यस वर्षको निर्णायक मण्डलमा केन्डल माउन्टेन फिल्म फेस्टिभलका कला निर्देशक क्लेर जेन कार्टर, अष्टे«लियन फिल्ममेकर जोलियन हफ तथा नेपालका छिरिङ रितार शेर्पा रहेका छन् ।
जुरीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा परेका १४ फिल्महरु मध्येबाट उत्कष्ट ३ फिल्म र नेपाल पानोरमा अन्तर्गत परेका २० वटा फिल्महरुबाट उत्कृष्ट बृत्तचित्र र कथानक चलचित्रको छनौट गर्नेछ । अन्तराष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने फिल्मलाई क्रमशः अमेरिकी डलर १५००।– १,०००।– र ५००।– बराबरको नगद पुरस्कार प्रदान गरिने छ जसको प्रायोजन क्रमशः नेपाल पर्वतारोहण संघ, दीपलक्ष्मी फाउन्डेसन र थामसेर्कु टेकिङले गरेका छन् ।
नेपाल पानोरामा अन्तर्गत आख्यान र गैरआख्यान विधामा क्रमशः रु एक लाख र ७५ हजार रूपियाँको नगद पुरस्कारको प्रायोजन क्रमशः मिला प्रोडक्सन प्रालि र नेपाल चलचित्र विकास बोर्डद्वारा गरिएको छ । (सिनेपाटी)









