विराटनगर, मंसिर १८
फायरिङका क्रममा गोली लागेर १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत एक प्रहरी जवान राजेन्द्र यादव घाइते भएका छन् ।
प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी शहकुलबहादुर थापाले प्रशिक्षार्थी प्रहरीलाई तालिम दिने क्रममा मंगलबार दिउँसो गोली लागेर सिरहा घर भएका २७ वर्षीय यादव घाइते हुन पुगेको बताए ।
यादवको देव्रे हातको हत्केला पार गरेर गोली बाहिर निस्किएको छ । उनी प्रहरी तालिम केन्द्रमा प्रशिक्षार्थी प्रहरीलाई तालिम दिने प्रशिक्षक हुन् । प्रशिक्षार्थी प्रहरीहरुलाई फायरिङ गराउने क्रममा दिउँसो २ बजे घटना भएको हो ।
‘नयाँ प्रशिक्षार्थीहरुलाई गोली हान्न सिकाउने क्रममा पेस्तोलमै गोली अड्कियो र त्यही बेला सफा गरेर पेस्तोलबाट गोली बाहिर निकाल्न खोज्दा पड्किएर घटना हुन पुगेको एसएसपी थापाले बताए ।
तत्काल उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएका प्रहरी जवान यादवलाई थप उपचारका लागि दिउँसो काठमाडौं लगिएको छ । यादवको अवस्था भने खतरामुक्त रहेको गोल्डेन अस्पतालले जनाएको छ ।