जीप दुर्घटना : बालिकाको मृत्यु, १० घाइते

जीप दुर्घटना : बालिकाको मृत्यु, १० घाइते

सिमरा,मंसिर २२
त्रिभुवन राजपथ अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जको आधाभार नजिकै ट्रक र जीप ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ भने दुर्घटनामा १० यात्रु घाइते भएका छन् ।

शनिबार बिहान सिमराबाट काठमाडौंका लागि छुटेको ना १ ज २८८१ नम्बरको जीपले सडक छेउमा रोकिराखेको लु २ ख ४९६ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा काभ्रे नमोबुद्ध नगरपालिका–२ की एक वर्षीया सञ्जना तामाङको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालका अनुसार सञ्जनालाई उपचारका लागि वीरगन्जस्थित न्युरो अस्पतालमा पुर्याएपछि उपचारको क्रममा उनको मृत्यु भएको हो ।
काभ्रे नमोबुद्ध नगरपालिका–२ घर भइ डुमरवाना बस्दै आएका सुजन तामाङ परिवार सहित काठमाडौं जाँदै गर्दा दुर्घटना भएको हो । दुर्घटनामा सुजन सहित उनकी पत्नी शान्ति, छोरा साजन घाइते भएका छन् ।

दुर्घटनामा जीप चालक बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१४ डुमरवानाका नारायण श्रेष्ठ सहित सोही ठाउँका शंकर राई, जीतपुर सिमरा–३ का सञ्जिव पौडेल, १२ वर्षीय बालक निशप पौडेल, जीतपुर सिमरा–१ का लिलबहादुर बिश्वकर्मा, जीतपुर सिमरा–१५ की सीता खतिवडा, जीतपुर सिमरा–१४ का बिखबहादुर घर्ती पनि घाइते भएका छन् ।

घाइतेमध्ये सञ्जिब र निशपलाई काठमाडौं लगिएको छ । अन्य घाइतेको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । प्रहरी निरीक्षक हमालका अनुसार बिग्रिएर रोकिराखेको ट्रकको पछाडी जीपले ठक्कर दिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.