विश्व क्रिकेटमा नेपालले बनाएका यी दुर्लभ कीर्तिमान

विश्व क्रिकेटमा नेपालले बनाएका यी दुर्लभ कीर्तिमान

काठमाडौँ,मंसिर २२
सन् १९९६ मा एसीसी ट्रफि खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पाईला अघि बढाएको नेपाली क्रिकेट टोलीले हाल सम्म टी–२० विश्पकप हुँदै वान डे मान्यतासम्म आईपुगेको छ ।

अहिले जुन स्तरमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको छ,वास्तवमा त्यो भन्दा धेरै माथिल्लो स्तरमा खेल्न सक्ने सम्भावना पनि देखिन्छ । खेलाडीको एक्लो प्रयास वान डे मान्यतासम्मआएको टोली अहिले नै माथि जान सक्ने अवस्था भने छैन ।

नेपाली क्रिकेट टिमको अबको सपना सन् २०२० को टी–२० विश्वकप तथा २०२२ को वान डे विश्वकप खेल्दै ८–१० वर्ष भित्रमा टेस्ट मान्यताप्राप्त राष्ट्र बन्नु हो । तर टेस्ट मान्यता पाउन त्यहि सहज भने छैन ।

अहिलेको जुन घरेलु संरचनाले रहेको छ त्यसले टेस्ट राष्ट्र बन्ने सपना कल्पनामै सिमित राख्नेछ । टेस्ट मान्यता प्राप्त गर्ने नै हो भने अहिलेदेखिनै क्रिकेट विकासमा निस्वार्थ भावना लिएर सबै अघि बढ्नुपर्छ । संघ र त्यसको व्यवस्थापनका साथसाथै घरेलु क्रिकेटको संरचना पनि त्यहि अनुसारको हुनुपर्छ ।

यो समयसम्म आईपुग्दा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा थुप्रै रेकर्ड पनि बनाएको छ । केहि रेकर्ड खेलाडीको नाममा रहँदा केहि टिमकै नाममा बने । केहि रेकर्ड त यस्ता बने जुन अव तोडिन पनि असम्भव देखिन्छ । यी हुन् नेपालले विश्व क्रिकेटमा बनाएका दुर्लभ ५ विश्व रेकर्ड स्

२ बलमै जित

सुन्दापनि सबैलाई आश्चर्य लाग्न सक्छ । ५० ओभरको खेल, ११ रनको लक्ष्य अनि २ बलमै विजयी । नेपालले सन् २००६ मा यो कीर्तिमान म्यानमारविरुद्ध रचेको हो । मलेसियामा भएको एसीसी ट्रफिमा नेपालले यो दुर्लभ कीर्तिमान हात पार्न सफल रहयो । टस जितेर नेपालले पहिला फिल्डिङ गर्ने निर्णय लियो । म्यानमार ब्याटिङको लागि मैदान उत्रियो । महबुब आलम ७ र बिनोद दासले ३ विकेट लिएपछि म्यानमार १२.१ ओभरमा १० रनमा अल आउट भयो ।

सामान्य ११ रनको लक्ष्य नेपालले दुई बलमै पुरा गर्यो । ५ रन एक्स्ट्रास्वरुप उपहार पाएपछि २ बलमै नेपालको जित सम्भव भयो । ओपनर महेश क्षेत्री र धिरेन्द्र चन्दले समान १–१ बलमा ३–३ रनमा नटआउट रहे । जुन रेकर्ड १२ वर्ष देखी यथावत छ । र अब तोडिन पनि असम्भवप्राय छ ।

महबुव आलमको एकै खेलमा १० विकेट

सन् २००८ मा जर्सिमा डिभिजन ५ लिग चलिरहेको थियो । मोजाम्बिकबीरुद्ध टस हारेर नेपालले ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ३८ रन जोड्यो । २ सय ३९ रनको लक्ष्य पक्ष्याएको मोजाम्बिक १४.५ ओभरमा सबै विकेट गुमाएर १९ रनमा समेटियो । महबुबले ७.५ ओभरमा १ मेडन सहित १२ रन खर्चेर १० विकेट लिए । उनले त्यसबेला ५ ब्याटम्यान बोल्ड,४ एलबीडब्लू र १ क्याच आउटको सिकार बनाए । महबुब सिमित ओभरमा एकै खेलमा १० विकेट लिने पहिलो खेलाडी बने र गिनिज बुकमा नाम पनि लेखाए ।

मोजाम्बिकका दुई ब्याट्सम्यानले मात्र खाता खोल्न सक्दा ९ खेलाडी डक आउट भएका थिए । पछिल्लो समय ढल्कँदो उमेरसँगै खस्किदो प्रर्दशनका कारण महबुब सन्न्यासको संघारमा पुगेका छन् । तर यो रेकर्डले महबुवलाई विश्व क्रिकेट जगत र नेपालले सधैँभरी सम्झिरहने छ । सिमित ओभरको खेलमा यो रेकर्ड तोडिन पनि अब असम्भव देखिन्छ ।

१० औं नम्बरमा सोमपालको ४० रन

सन् २०१४ मा नेपाल र हङकङबीच टी–२० सिरिज श्रीलंकामा चलिरहेको थियो । चौथो खेलमा हङकङले टस जित्यो र नेपाललाई पहिलो ब्याटिङको निम्तो दियो । सधैं ब्याटिङमा कमजोर मानिने नेपाल १२।५ ओभरमा वसन्त रेग्मी ३ रनमा पेभिलिएन फर्कंदा २५(८ को दयनिय अवस्थामा पुगेको थियो । नेपालले ५० रन पनि कटाउन नसक्ने अनुमान समर्थकहरुको थियो । नेपालको नाजुक प्रदर्शन हेर्दा त्यसो गर्नु स्वभाविक पनि थियो । वसन्त आउट भएसँगै शक्ति गौचन,सोमपाल कामी र अमृत भट्टराईको विकेट हातमा थियो । तीनै जना बलर थिए ।

त्यसवर्षदेखि नै राष्ट्रिय टिममा देखा परेका सोमपाल कामीले उक्त खेलमा चमत्कारपूर्ण ब्याटिङ गरे । सोमपाल क्रिजमा आउनु अघि शक्ति १० बलको सामना गर्दा खाता खोल्न सकेका थिएनन् । सोमपालले शक्तिसँग मिलेर १८।५ बल सम्म ४३ रनको साझेदारी गर्दै स्कोर ६८–८ को अवस्थामा पुर्याए । जुन स्कोर कोलोम्बोको पिचमा प्रतिस्पर्धा गर्न योग्य मानिन्थ्यो । सोमपालले ३१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ४० रन बनाएको अवस्थामा १९ औं ओभरको अन्तिम बलमा आउट हुन पुगे ।

आउट भएपनि सोमपालले आफ्नो नाममा विश्व रेकर्ड लेखाए । अहिलेसम्म टी–२० क्रिकेटमा १० औं नम्बरमा आएर ४० रन बनाउने सोमपाल कामी एक्लो ब्याट्सम्यान हुन् । उक्त खेलमा भने हङकङ २ विकेटले विजयी भयो । निकै प्रतिस्पर्धात्मक खेलमा हङकङले १ बल बाँकी छदाँ संघर्षपूर्ण जित निकालेको थियो ।

रुविनाको एकै ओभरमा ५ विकेट

सन् २००९ मा मलेसियामा एसीसी महिला टी–२० च्याम्पियनसिप क्रिकेट चलि रहेको थियो । नेपालले सिंगापुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ७९ रन जोड्यो । जवाफी ८० रनको लक्ष्य पक्ष्याएको सिंगापुरको नाटकीय विकेट पतन भयो । कप्तान रुविना क्षेत्रीले मलेसियाको पिचमा कमालको प्रदर्शन गरिन् ।

रुविनाले अन्तिम ओभरमा लगातार पाँच विकेट लिएपछि हारको मुखमा पुगेको नेपालले खेल बराबरीमा रोक्न सफल रहयो । रुविनाले दोस्रो, तेस्रो,चौथो,पाँचौ र अन्तिम बलमा लगातार विकेट लिएकी थिइन् । उक्त प्रदर्शनसँगै रुविना पहिलो पटक ह्याट्रिक गर्ने नेपाली महिला खेलाडी समेत बनिन् । साथै महिला टी–२० क्रिकेटमा एकै ओभरमा लगातार ५ विकेट लिने पहिलो महिला क्रिकेटरको रेकर्ड समेत आफ्नो नाममा लेखाइन् । जुन रेकर्ड अब महिला क्रिकेटमा तोडिन असम्भव छ ।

टी–२० विश्वकपमा नो वाइड

नेपाली क्रिकेट जगतमा सबैभन्दा ठूलो सफलता सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी–२० विश्वकप खेल्नुलाई मानिन्छ । पहिलो पटक विश्वकप खेल्दाको त्यो क्षण, त्यो खुसि र उत्साह शब्दमा वर्णन गर्न सकिन्न । जति शब्दमा व्याख्या विश्लेषण गरेपनि कमनै हुनेछ । नेपाली टोलीको सधै बलियो मानिने हतियार बलिङ पक्ष विश्वकपमा विश्वसामु अझ बलियो ठहरियो ।

पहिलो खेलमा हङकङलाई ८० रनको फराकिलो अन्तरले हराउँदै विश्वकपमा नेपालले सानदार सुरुवात गर्यो । हङकङलाई ६९ रनमा अल आउट गर्दा कुनै वाइड फालेन । नेपाल दोस्रो खेलमा आयोजक बंगलादेशसँग ८ विकेटले पराजित हुन पुग्यो । तर वाइडमा रन भने दिएन । अन्तिम खेलमा अफगानिस्तानलाई ९ रनले पराजित गर्दै विश्व क्रिकेट जगतमा पुन एक पटक तहल्का पिट्यो । उक्त खेललमा पनि वाइडको रुपमा कुनै रन दिएन । जुन एउटा विश्व रेकर्ड बन्यो ।(हाम्रो खेलकुदबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.