काठमाडौं,मंसिर २२
काठमाडौँमा आजबाट सुरु भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा ललितपुर प्याट्रीयट्सले विराटनगर वारीयर्सलाई जितको लागि १ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ललितपुरले औसत ब्याटिङ प्रदर्शन गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४ रन जोड्यो । कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४९ रनको योगदान दिंदा अन्य ब्याट्सम्यानले ठूलो स्कोर जोड्न सकेनन् ।
ज्ञानेन्द्र ४९ रन जोड्दै इनिङसको अन्तिम बल बाँकी छँदा करण केसीको बलमा कट बिहाईन्ड भए । उनले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
भारतीय ब्याट्सम्यान ओपनर जयकिशन कोल्सावाला ४ रन र गौवर तोमर ४ रनमा पेभेलियन फर्कंदा ललितपुरले अपेक्षित सुरुवात लिन सकेन । ओपनर पवन सर्राफले २१ बलमा १ चौका र १ छक्कासहित १४ रनमात्र जोडे ।कुशल भुर्तेल सामना गरेको पहिलो बलमा नै स्टम्पिङ आउट भए ।
भारतका सन्नी पटेलले आक्रामक ब्याटिङ गर्दै टोलीको योगफल सम्मानजनक पुर्याउन मदत गरेका थिए । उनले १५ बलमा ३ चौकासहित २० रनको योगदान दिए । सन्दीप जोरा ७ बलमा ४ रन जोड्दै पेभेलियन फर्किए ।
योगेन्द्र सिंह कार्की खाता नखोली रनआउट भए । राशिद खानले ३ बलमा नटआउट ५ रन जोड्दा सन्दीप अन्तिम बलमा शून्यमा रनआउट भए ।
विराटनगरका लागि रोलाफ भान डर मर्वले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । वसन्त रेग्मीले ४ ओभरमा मात्र १२ रन खर्चेर १ विकेट हात पारे । करण केसीले २ विकेट लिंदा स्मित पटेल र पारस खड्काले पनि १–१ विकेट हात पारे ।