एजेन्सी,मंसिर २३
जारी इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब चेल्सीले म्यानचेस्टर सिटीलाई सिजनको पहिलो हार चखाएको छ ।अपराजित रहेको म्यानचेस्टरलाई शनिबार राति भएको खेलमा चेल्सीले २–० ले पराजित गर्दै अपराजित यात्रामा पुर्णविराम लगाएको हो ।
सिटी पछिल्लो १५ खेलमा १३ जित र २ बराबरीसँगै लिगमा अपराजित रहेको थियो । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा सिटीलाई हार चखाउन एङगोले कान्टे र डेभिड लुइजले गोल गरे । दुवै गोल पहिलो र दोस्रो हाफमा सम्भव भएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा घरेलु टोली चेल्सीले ४५औं मिनेटमा एङ्गोलको कान्टेको गोलबाट खेलमा अग्रता बनाएको थियो । कान्टेले इडेन हजार्डले पेनाल्टी बक्सभित्रबाट उपलब्ध गराएको पासलाई पेनाल्टी बक्सभित्रबाटै वान टचमा सुन्दर गोल गरेका थिए ।
चेल्सीले ७८औं मिनेटमा अग्रता दोब्बर पा¥यो । इडेन हजार्डकै कर्नरमा डेभिड लुइजले हेडमार्फत सुन्दर गोल गरेका थिए । त्यसपछि दुवै टोलीले गोलका केही मौका पाएपनि सदुपयोग गर्न नसक्दा चेल्सीले खेल २–० ले आफ्नो पक्षमा पार्न सफल भयो ।
जितपछि चेल्सी १६ खेलबाट ३४ अंक जोडेर तालिकाको चौथो स्थानमा यथावत छ । चेल्सीसँगको हारसँगै सिटीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । सिटीको १६ खेलबाट ४१ अंक छ । शनिबार राति नै एफसी बोर्नमाउथलाई ४–० ले पराजित गरेको लिभरपुल ४२ अंकसहति लिगको शीर्ष स्थानमा रहेको छ ।