विराटनगर,मंसिर २५
राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतोले २ नम्बर प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरको पक्षमा आफू रहेको बताएका छन् । राजपाले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतोले मधेशमा अगाडि पछाडि अरु नाम जोडिए पनि आपत्ति नहुने बताए ।
ऐतिहासिक, सांस्कृतिक हिसावले प्रदेशको राजधानी भने जनकपुर नै हुनुपर्ने प्रदेशबासीको इच्छा रहेको आफूले बुझेको उनको भनाइ थियो । यद्यपि प्रदेशको नाम र राजधानीको विषय विधान सभाले टुंग्याउने र उसैको अधिकारको विषय रहेको उनले बताए ।
वर्तमान संघीय सरकार प्रत्येक कुरामा असफल हुँदै गएको भन्दै सरकारको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा छिट्टै टुंगो लगाउने उनले बताए । संयोजक बनेपछि पहिलोपटक विराटनगर आएका महतोले आफूले समर्थन गरेको सरकारले संविधान संशोधनमा चासो नदिएको कारण अहिले सरकारमा जाने कुनै सम्भावना नरहेको पनि स्पष्ट पारे ।
उनले संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकीकरणको कुरा चले पनि वर्तमान अवस्थामा विचार र दृष्टिकोण अलग रहेका कारण तत्काल एकीकरणको संभावना नरहेको बताए ।