विराटनगर,पुस १
उपप्रधानमन्त्री एवम् संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अब बस्ने संसदको हिउँदे अधिवेशनले संविधान संशोधनको आवश्यक प्रक्रिया शुरु गर्ने बताएका छन् ।
विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै उपप्रधानमन्त्री यादवले संविधानका केही गलत प्रावधानका कारण जनताले परिवर्तनको अनुभूति गर्न नसकेकाले संविधान संसोधन गर्नुपर्ने बताए ।
उनले शिक्षा, स्वास्थ्य र रोजगारलाई प्रमुख प्राथमिकतामा राखेर आवश्यक कानुनहरु बनाउन लागिएको समेत जानकारी दिए । उपप्रधानमन्त्री यादवले संघीयताको विकल्प नभएकाले यसैलाई स्थापित र संस्थागत गर्दै विकास र समृद्धिको प्रतिफल दिनुपर्ने धारणा व्यक्त गरे ।
फरक प्रसंगमा उपप्रधानमन्त्री यादवले विचार मिल्नेहरु संग पार्टी एकता गर्ने र मुद्दा मिल्नेहरु संग कार्यगत एकता गर्ने बताए । उनले विपरित विचार राख्नेहरु संग प्रतिस्पर्धा गर्ने बताउदै राजपा संग वार्ता र सम्वाद कुनै नेता कै कारण नरोकिने स्पष्ट पारे ।
उनले वार्ता र एकताका लागि सरकारमा बस्ने नबस्ने शर्त राख्नेले आफुले पनि सरकारमा नजाने भन्न सक्नुपर्ने चुनौती दिए ।