विराटनगर,पुस १
पोखराका सिडी विजय अधिकारी पहिलो ‘द भ्वाइस अफ नेपाल’ को विजेता बनेका छन् ।अधिकारीले कतारको दोहामा शुक्रबार भएको फाईनलमा अन्य ३ प्रतिष्पर्धीलाई पाखा लगाउँदै ‘द भ्वाइस अफ नेपाल’ बन्न सफल भएका हुन् ।
अधिकारीले उपाधिसहित नगद २५ लाख, ब्राण्ड न्यू कार र २० लाख बराबरको संगीत सम्झौता पुरस्कार पाएका छन् । ग्राण्ड फिनालेमा हास्यकलाकार एवं सामाजिक अभियन्ता धुर्मुस र सुन्तलीले अधिकारी विजेता बनेको घोषणा गरेका थिए ।
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने सो फेन्चाईज गायन प्रतिष्पर्धाको फाईनलमा टिम दीप श्रेष्ठबाट अधिकारी, सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम प्रमोद खरेलबाट श्रीजे थपलिया र टिम अभया सुब्बाबाट कुशल आचार्य पुगेका थिए ।
प्रतियोगिताको उत्कृष्ठ १६ तयार भएपछि दर्शकले गरेको भोट आधारमा प्रतिस्पर्धीका छानिँदै आएका थिए । सनुप पौडेलको चर्चित गीत ‘दैव हे’ बाट ‘द भ्वाइस अफ नेपाल’ मा प्रवेश गरेका अधिकारीले ‘भिरमा उन्यू’ गीतबाट लाइभ राउण्डमा देखिएका थिए भने सेमीफाइनलमा ‘मैले’ बोलको गीतबाट आएका थिए।
हालसम्म २ सयभन्दा बढी गीतहरूमा स्वर दिइसकेका अधिकारी पृथ्वीनारायण क्याम्पसको स्वर्णमहोत्सव अवसरमा आयोजित गायन प्रतियोगितामा प्रथम भई पिएनसी आइडल तथा बिग आइकन उपविजेता बनेका थिए ।
२०६७ सालमा नेपाल टेलिभिजनबाट प्रसारित खोजी प्रतिभामा उपविजेता र २०७४ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितिामा गायनतर्फ सर्वप्रथम भएका छन्।
गायन दौरानमा निर्णायकबाट बहुप्रतिभावान् कलाकारको उपाधि समेत प्राप्त गरेका अधिकारी राष्ट्रियस्तरमा चर्चा कमाइसकेका र एक स्थापित स्रष्टा हुन् । कास्कीको लाहाचोकका चन्द्रकान्त अधिकारी र दुर्गा अधिकारीको कोखबाट २०४६ भदौ ४ मा जन्मेका सिडी विजय सानै उमेरदेखि पढाइ साथै सांगीतिक क्षेत्रमा समेत आफ्नो क्षमता प्रदर्शन गरी थुप्रै पुरस्कार हात पार्न सफल भइसकेका छन् ।
मदरल्याण्ड मावि, पोखरामा कक्षा ७ मा अध्ययन गर्दा जिल्लास्तरीय गायन प्रतियोगितामा उपाधि प्राप्त गरी वर्ल्डभिजनद्वारा प्रकाशित क्यासेट एल्बम आभाषको आधा दर्जन गीतहरुमा स्वर दिई गायनयात्रा प्रारम्भ गरेका हुन् । फाइनलमा प्रवेश गरेकाहरुलाई सांगीतिक यात्राको विश्व भ्रमणसमेत मिलेको छ ।
अधिकारी ‘द भ्वाइस अफ नेपाल’ भईरहँदा पोखराका बिक्रम बराल पनि नेपाल आइडलका अन्तिम प्रतिस्पर्धी बनेका छन् । यसअघि नेपाल आईडलमा पोखराकै बुद्ध लामा विजेता बनेका थिए ।एकपछि अर्को प्रतिस्पर्धा जित्दै पोखरा सांगितिक शहर बन्दै गएको छ ।