विराटनगर, पुस २
बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तका दोषीलाई कारवाही र पिडितलाई न्यायको माग गर्दै सोमबार बालबालिकाहरुले विराटनगरमा शान्तिपूर्ण र्याली प्रदर्शन गरेका छन् ।
विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुल, बाल्मिकी सेकेण्डरी इङ्ग्लिस बोर्डिङ र कटहरीको जनप्रिया मा.विका विद्यार्थीहरुले निर्मलाका लागि सरकार सँग न्याय माग गर्दै शान्तिपूर्ण र्याली निकालेका हुन् ।
विराटनगरको मुख्य बजार र विभिन्न भागको परिक्रमा गर्दै ट्राफिक चौकमा पुगेर र्याली कोणसभामा परिणत भएको थियो । कोणसभामा विद्यार्थीहरुले निर्मलालाई न्याय दिन ढिलाइ गरेर सरकारले आफुहरु जस्ता बालबालिका माथि अन्याय गरेको बताएका छन् ।
सरकारले बलात्कारी र हत्यारालाई सजाय दिन ढिलाई गरेको उनीहरुले बताएका छन् ।