काठमाडौं,पुस ३
काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग इपीएल टी–२० क्रिकेट प्रतियोगिताको विजेताले रु.२५ लाख पाउने भएको छ ।
आयोजकले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेर विजेता र उपविजेताले पाउने पुरस्कार राशीबारे जानकारी गराएको हो । जसअनुसार विजेताले २५ र उप विजेताले १० लाख पाउने छन् ।
समुह चरणको खेल सकिएपछि मात्र आयोजकले पुरस्कार राशी घोषणा गरेको हो । त्यस्तै खेलमा “म्यान अफ द सिरीज” हुने खेलाडीले अपाचे आरटीआर १ सय ६० फोर भि मोटरसाइकल पाउने जनाईएको छ ।
उत्कृष्ट बलर, ब्याट्सम्यान, उदयमान खेलाडीले पाउने पुरस्कार राशीबारे भने विज्ञप्तिमा खुलाएको छैन । ईपीएलको समुह चरणको खेल सकिदा चितवन टाइगर्स, भैरहवा ग्ल्याडीयटर्स, काठमाडौं किंग्स ईलेभेन र ललितपुर प्याट्रीयट्स प्ले अफमा आफ्नो स्थान सुरक्षित गरेका छन् । त्यस्तै साविक विजेता विराटनगर वारीयर्स र पोखरा राइनोज भने समुह चरणबाटै बाहिरिए ।
शीर्षस्थानमा रहेको ललितपुरले दोस्रो स्थानमा रहेको काठमाडौंसँग मंगलबार(आज) क्वालिफायर खेल खेल्ने छ । विजेता टोली सोझैं फाइनलमा पुग्ने छ ।
पराजित हुने टोलीले पनि फाइनलको लागि पुन मौका पाउने छ । बुधबार तेस्रो र चौथो स्थामा रहेका भैरहवा र चितवनबीच एलिनिमेटर खेल हुने छ । एलिनेमेटरको विजेता टोलीसँग क्वालिफायरमा पराजित हुने टोलीले फाइलन प्रवेशको लागि विहीबार खेल्ने छ । फाइनल खेल आगामी शनिबार हुने छ ।