विराटनगर,पुस ३
महेन्द्र मोरङ क्याम्पस विराटनगरमा विभिन्न विद्यार्थी संगठनले गरेको तालाबन्दी अझै खुल्न सकेको छैन । क्याम्पस प्रमुख बाबुराम तिम्सिनालाई सोमबार ४ घन्टासम्म कार्यकक्षमै थुनेर तालाबन्दी शुरु गरेका विद्यार्थी संठनले मंगलबारको वार्तामा निश्कर्ष निस्किन नसकेपछि तालाबन्दीलाई निरन्तरता दिएका हुन ।
विगतका विभिन्न वार्तामा भएका सहमतिलाई कार्यान्वयन गर्न र नयाँ मुद्धालाई समेत सम्बोधनगर्न क्याम्पस प्रशासन उदासिन भएपछि वार्ता सफल हुन नसकेको अनेरास्वियु क्रान्तिकारीका क्याम्पस इकाई कमिटि अध्यक्ष अभिमन्यु यादवले जानकारी दिए ।
केहि महिनायता क्याम्पसकालागि १ करोड बढीको कार्यालय तथा शैक्षिक सामाग्रि खरीद गरिएको र त्यसमा ब्यापक अनिमियता गरिएको विद्यार्थी संगठनहरुले आरोप लगाएका छन् । १ करोड बढीको सामाग्रि खरीद गरिएपनि कमिशनको लोभमा चारचार लाखको कोटेशनबाट ती सामाग्री खरीद गरएको उनिहरुको आरोप छ ।
क्याम्पसमा जर्जर अवस्थामा रहेको लाइब्रेरी मर्मत सम्भारकालागि निकालिएको २१ लाखको टेण्डरमा समेत अनियमितता भएको र क्याम्पस परिसरभित्र रहेका रुखहरु जथाभावी कटान गरेर बिक्रि गरिएको विद्यार्थी नेता जसवन्त पौडेलको भनाई छ । उनिहरुले नैतिकताका आधारमा क्याम्पस प्रमुख तिम्सिनाले राजिनामा दिन समेत माग गरेका छन् ।