काठमाडौं,पुस ६
स्मार्ट लाइसेन्स छपाइको जिम्मा पाएको मालिका इन्कर्पोरेटले २ लाख लाइसेन्स छपाई गरेको छ । ६ लाख लाइसेन्स छाप्ने जिम्मा लिएकोमा कर्पोरेटले २ लाख कार्ड छपाई गरी यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको हो ।
विभागलाई प्राप्त लाइसेन्स वितरण प्रक्रिया सुरु भैसकेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले बताए । उनका अनुसार हाल विभागले कार्पोरेटलाई २ लाख ५० हजार डाटा उपलब्ध गराइसकेको छ ।
केही प्रविधिक समस्या देखिएकोले छपाई प्रक्रियामा ढिलाई भएको विभागले जनाएको छ । इन्कर्पोरेटले दैनिक २० हजार लाइसेन्स छाप्ने दाबी गरे पनि आवश्यक डाटा विभागले उपलब्ध गराउन नसकेको भन्दै थोरै संख्यामा मात्र कार्ड छपाई गरिरहेको छ ।
प्राविधिक समस्या हल भएपछि लाइसेन्स छपाइको संख्या बढ्ने इन्कार्पोरेटका प्रबन्ध निर्देशक सुरेद्र ढकालले बताए । इन्कर्पोरेटले अझै ४ लाख लाइसेन्स छपाई गर्न बाँकी छ । विभागले कार्पोरेटलाई पुस २८ सम्म समय थप गरेको छ ।
विभागले छरितो रुपमा लाइसेन्स छाप्न नसकेपछि मालिका इन्कर्पोरेट लिमिटेडलाई लाइसेन्स छाप्ने जिम्मेवारी दिएको थियाे । मालिकाले ४५ दिनमा ६ लाख स्मार्ट कार्ड लाइसेन्स छापी सक्ने गरी विभागसँग सम्झौता गरेको थियो ।
कार्ड छापेबापत कम्पनीले प्रतिकार्ड १५ रुपैंयाका दरले ९० लाख रुपैंया प्राप्त गर्नेछ । लाइसेन्स छापिने कार्ड, बिजुली लगायत भौतिक साधन भने विभागले नै उपलब्ध गराउने सम्झौता भएको छ । कार्ड विभागको मीनभवन स्थित कार्यालयमा इन्कर्पोरेटले कार्ड छापिरहेको छ ।
अब प्रदेशले नै स्मार्ट कार्ड छपाई गर्ने
विभागले ७ वटै प्रदेशलाई सम्पुर्ण अधिकार प्रदान गरेको छ । प्रवक्ता उपाध्ययका अनुसार विभागले मंसिर २८ गते नै सबै प्रदेशलाई अधिकार प्रदान गरेको हो । अब सातै प्रदेशले आफैं मेसिन किनेर स्मार्ट लाइसेन्स छपाई गर्न सक्नेछ । विभागले संघीय संरचना अनुसार मोटरसाइकल लगायत सवारी साधनको स्मार्ट लाइसेन्स प्रदेशबाटै वितरण गर्न लागेको हो ।
साविकको १४ अञ्चल कार्यालयमा रहेका कार्यालयहरुलाई व्यवस्थापन गरेर विभागले लाइसेन्स वितरण गर्न लागेको हो । संघीय संरचना अनुसार प्रदेशका यातायात कार्यालयले लाइसेन्स छापिने स्मार्ट कार्ड देखि छाप्ने मेसिनसम्म सबै पुर्वाधारको विकास गर्नुपर्ने हुन्छ । यसको सबै व्यवस्था प्रदेश सरकारमा निहीत हुने प्रवक्ता उपाध्ययले बताए ।(विकास न्युजबाट)