पहाड फोडेर काठमाडौं र तराई/मधेश जोड्दै फास्ट ट्रयाक, युद्धस्तरमा काम गर्दै नेपाली सेना

पहाड फोडेर काठमाडौं र तराई/मधेश जोड्दै फास्ट ट्रयाक, युद्धस्तरमा काम गर्दै नेपाली सेना

काठमाडौं,पुस ८

तराई मधेश र पहाडको सिधा दुरी धेरै नभएपनि भौगोलिक अवस्थितीले निकै टाढा रहेको अनुभूति दिलाईरहेको छ । यतिबेला काठमाडौं र तराईलाई जोड्ने चार विकल्प छन, पहिलो हो नारायणगढ मुग्लिन हुँदै नागढुंगा सडक, दोश्रो सडक हो हेटौँडा दामन हुँदै नौबिसे काठमाडौं सडक । तेश्रो विकल्पका रुपमा हेटौँडा कुलेखानी काठमाडौं सडक । र, चौथो विकल्पका रुपमा बर्दिबास सिन्धुली धुलिखेल सडक ।
यी सबै सडकबाट तराई मधेश हुँदै काठमाडौं आईपुग्न कम्तिमा आधा दिन खर्चनु पर्छ ।

तर, अबको केहि बर्षभित्रै काठमाडौं र तराई मधेशको दुरी एक घण्टामै छोटिँदै छ फास्ट ट्रयाकबाट । काठमाडौंबाट निजगढको दुरीलाई फास्ट ट्रयाकले ७६.२ किलोमिटर दुरीमा सिमित गर्दैछ । अझै सुरुङको संख्या र लम्बाई बढाउँदो संघिय राजधानी र तराई मधेशको दुरी ७३ किलोमिटरमै छोटिँदैछ र यात्रा एक घण्टा भन्दा कम समयमै सम्पन्न हुँदैछ ।

हो, त्यति सडकको नाम हो काठमाडौं तराई मधेश द्रुत मार्ग जसलाई छोटकरीमा फास्ट ट्रयाकको नामले चिनिन्छ । यतिबेला नेपाली सेनाको टोलीले तराई मधेश र पहाड जोड्ने फास्ट ट्रयाक निर्माणका लागि धमाधम पहाड फोरिरहेको छ । महाभारत, शिवालिग र चुरे पर्वत फोेरेर सेनाले देश भित्रको दुरी मेट्दैछ । प्रतिकिलोमिटर १२० घण्टाको स्पीडमा यहाँ सवारी साधनहरु गुड्नेछन् ।

एसियाली मापदण्डको यो सडक देशको समृद्धिमा कोशे ढुंगा सावित हुनेछ । सेनाले १० ठाउँमा क्याम्प खडा गरेर युद्धस्तरमा काम गरिरहेको छ ।

सांसद टोली स्थलगत अध्ययनमा
संघिय संसदको विकास तथा प्रबिधि समिति सभापति कल्याणीकुमारी खड्का नेतृत्वको संसदिय समितिले फास्ट ट्रयाक निर्माणको स्थलगत अध्ययन गरेको छ । पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल, पूर्व मन्त्री प्रभु शाह, अनिल झा, सांसदहरु दामोदर भण्डारी, गणेश पहाडी, इन्दु शर्मा सहित सञ्चार कर्मीहरुको टोलीले धमाधम निर्माण भैरहेको सडकको अवलोकन गरेका थिए ।

सेनाले युद्धस्तरमै काम गरेको देखेपछि सांसदहरुको टोलीले समयमै सडक निर्माण हुनेमा आशावादी रहेको प्रतिक्रिया जनाए । यद्यपी सेनाले निर्माण गरेका स्थायी प्रकृतिको भौतिक संरचनाले भने मितव्ययीतामा केहि प्रश्न उठाएको उनीहरुले बताए । त्यस्तै, सडक निर्माणका क्रममा वातावरणीय पक्षलाई पनि ध्यान दिनुपर्ने सांसदहरुको निष्कर्ष रह्यो ।

पूर्व प्रधानमन्त्री माधव नेपालले सेनाको कामबाट सडक निर्माणमा सन्तोष गर्ने ठाउँ देखिएको बताए ।‘यो सडकको ट्रयाक खोल्ने जिम्मा सेनालाई मेरै सरकारले दिएको थियो, शिलान्यास गर्न पनि मै आउने सोँचेको थिएँ तर भ्याइन, अहिले निर्माणको समेत जिम्मेवारी पाएको सेनाले जुन रफ्तारमा काम गरिरहेको छ, त्यसले आशा जगाएको छ’, पूर्व प्रधानमन्त्री नेपालले भने ।

समिति सभापति कल्याणी खड्काले पनि सेनाले गरिरहेको निर्माण कार्य सराह्रनिय भएको बताईन् ।‘नेपाली सेनाले द्रुतगतिमा काम गरिरहेको छ, यो गतिलाई अझै बढाउन हामीले सघाउनु पर्छ, समयमै काम सम्पन्न गर्न के सहयोग गर्नुपर्ने हो त्यसका लागि समिति तयार छ’, खड्काले भनिन् । यद्यपी वित्तिय अनुशासनका सवालमा भने समिति सधै चनाखो रहने सभापति खड्काले बताईन् ।

ठेकेदारमा पनि दंग
बुदुनेमा पहाड काट्ने जिम्मेवारी पाएको मृत सञ्जीवनी कन्स्ट्रक्सनका सञ्चालक बिरबहादुर लामाले सेनाकै स्पीडमा काम गरिएको बताए । ‘एक दिन काम रोकियो भने सेनाको टोली घरमै लिन जान्छन्, हामी सेनाले जसरी नै युद्धस्तरमा काम गरिरहेका छौं,स्थानीय अवरोध पनि सेनाले नै हटाउँछ, पैसा भुक्तानीमा पनि कुनै समस्या छैन्’, ठेकेदार कम्पनीका सञ्चालक लामाले भने ।

बदुनेको पहाड फोड्ने आफ्नो जिम्मेवारी समयमै सम्पन्न गरेर सेनालाई हस्तान्तरण गर्न लागेको पनि उनले जानकारी दिए ।

युद्ध जस्तै कठिन कामः सेना
सेनाको फास्ट ट्रयाक आयोजनाका प्रमुख योगेन्द्र खाँणलेपनि युद्ध जस्तै कठिन जिम्मेवारीलाई कुशलता पुर्वक सम्पन्न गर्ने बताए । (विकास न्युजबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.