विराटनगर, पुस ९
भ्रष्टाचार विरोधीका रुपमा चिनिदै आएका श्रम तथा रोजगार कार्यालयका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलको अढाई महिनामै सरुवा भएको छ । २५ असोज २०७५ मा श्रम तथा रोजगार कार्यालयमा बरिष्ठ श्रम अधिकृतको रुपमा हाजिर भएका उपसचिव सञ्जेलको सीप बिकास कार्यालय इटहरी सुनसरीमा कामकाज गर्ने गरी आकस्मात सरुवा भएको हो ।
यो सरुवाप्रति भने उनले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दे आपत्ति जनाएका छन । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रशासन शाखाले ६ पुस २०७५ मा व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान इटहरीमा कार्यकारी निर्देशक भएर कामकाज गर्ने गरी सरुवा गरिएको पत्र पठाएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरबाट सरुवा भई श्रम कार्यालयमा हाजिर भएदेखि नै सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गराउन र श्रम ऐन २०७४ लाई पुर्ण रुपमा कार्यान्व्यन गराउन सक्रियतापूर्वक लागिरहेको अवस्थामा आफुलाई नियम बिपरित अढाई महिनामै आकस्मात बदनियतपूर्वक सरुवा गरिएको अधिकृत सञ्जेलले आरोप लगाएका छन् ।
उनले आफुलाई श्रम अधिकार लागू हुन नदिने रोजगारदाता, टे«ड युनियन प्रतिनिधि र भ्रष्ट कर्मचारीहरु मिलेर नियमविपरीत सरुवा गरेको दाबी गरेका छन । प्रचलित निजामति सेवा ऐन विपरित गरिएको सरुवा बदर गर्न आफु जुनसुकै हदसम्म पनि जाने उनको भनाइ छ । विराटनगर स्थित श्रम तथा रोजगार कार्यालयमार्फत अब चाँडै बैदेशिक रोजगारका लागि श्रम स्विकृति सेवा पनि सुरु हुने भएकोले पनि घुस खाएर अकुत कमाउन चाहनेहरुले आफूलाई बाधक ठानेर सरुवा गरेकोले बताएका छन । सञ्जेलले सरुवा पुर्नबिचार गर्न श्रममन्त्री गोकर्ण बिष्ट र प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन ।