विराटनगर, पुस १०
मोरङको उर्लाबारी नगरपालिका – ७ मा सोमबार साँझ घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ ।
साँझ ६ : ३० बजे रामबहादुर थापाको घरमा आगलागी हुँदा आगोले जलेर बुहारी ४५ वर्षिया रिना थापाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
आगलागीको समयमा घरमा ८४ वर्षिय ससुरा रामबहादुर र बुहारी रिना रहेका थिए । रामबहादुरलाई स्थानीयबासी र प्रहरीले उद्धार गरेपनि बुहारी कोठामा चुक्कुल लगाएर सुतेकाले उद्धार गर्न नसक्दा आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा ससुरा रामबहादुर र बुहारी रिनासँगै नाती २५ वर्षिय हेमन्त थापा बस्दै आएका थिए । आगलागीको समयमा हेमन्त भने घर बाहिर रहेका थिए । आगलागीबाट फुस र टाटीको बेराले बनेको घर जलेर नष्ट हुँदा रु ५ लाख बराबरको क्षति भएको छ ।
आगलागीको कारण खुल्न नसकेको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिए । आगोलाई झापाको दमकबाट आएको बारुणयन्त्र, प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।