काठमाडौं,पुस १४
नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङले माल्दिभ्स फुटबलको वर्षको उत्कृष्ट गोलकिपरको उपाधि जितेका छन् । माल्दिभ्स फुटबल डट कम र माल्दिभ्स फुटबल संघले संयुक्त रुपमा आयोजना गरेको यो अवार्ड टिसी स्पोर्टसलाई माल्दिभ्सको धिवेही प्रिमियर लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका किरणले जित्न सफल भएका हुन् ।
उनीसँगै न्यू रेडियन्टका मोह्मम फेजल र क्ल्ब इगल्सका सुजन परेरा मनोनयमा परेका थिए । किरणको टोली ट्रस्ट एण्ड केयर (टीसी) स्पोट्र्स क्लबले यस सिजनको लिग उपाधि जित्दा लिगको सर्वोत्कृष्ट गोलकिपर चुनिएका थिए । किरणको टोलीले लिगको १६ खेलमा १३ जित, १ बराबर र २ हारसहित ४० अंक जोड्दै लिग जितेको थियो ।
किरणको टोलीले लिग अवधिभर खेलेका १६ खेल मध्य ११ खेलमा क्लिन सिट राख्न सफल भएका थिए । उनले जम्मा ५ खेलमा मात्र गोल खाए । किरणले गतवर्ष मिन्नरेभा पन्जाबबाट खेल्दै भारतको आई–लिग उपाधि पनि जितेका थिए ।
नेपालमा हुँदा रुस्लान थ्री स्टारबाट राष्ट्रिय लिग जितेपछि विदेश लागेका किरणले टिसी स्पोट्र्सबाट दुई वर्षअघि बंगलादेशमा सम्पन्न शेख कमल अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि पनि जितेका थिए । किरणले राष्ट्रिय टोलीलाई एएफसी सोलिडारिटी कप जिताउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।