विराटनगर,पुस १४
मोरङ ब्यापार संघको आयोजनामा विराटनगरमा जारी विराट ट्रेड एक्स्पोको आज अन्तिम दिन । आजबाट एक्स्पो समापन हुंदैछ । एक्सपोले आफ्नो लक्ष्य अनुसार आम उपभोक्ता र उत्पादकलाई एकै ठांउमा जमघट गराउन सफल भएको आयोजकको दावी छ ।
एक्स्पो समापनको पुर्व सन्ध्यासम्म १७ करोडको विक्रि भएको छ भने १ लाख बढी दर्शकले प्रत्यक्षरुपमा एक्स्पोको अवलोकन गरेका छन । आज अन्तिम दिन हास्यकलाकार मनोज गजुरेल, गायक एडिन प्रधान लयागतका कलाकारहरुले प्रस्तुति रहने छ भने फेशन शोको पनि आयोजना गरिएको छ ।
मोरङ ब्यापार संघ मुख्य आयोजक रहेको मेला लाई सफल बनाउन प्रदेश १ का सम्पुर्ण मन्त्रालयहरु,कृषि ब्यवसाय प्रर्वद्धन कार्यक्रम,नेपाल पर्यटन बोर्ड,नेपाल उद्योग वाणिज्य महासंघ,विराटनगर महानगरपालिका तथा उद्योग संगठन मोरङ लगायतका संघसंस्थाहरुले समेत प्रर्वद्धन एवम सहयोग गरेका छन ।
विराटनगर २ को शंकरपुरमा आयोजित एक्सपोको प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले पौष ६ गते उदघाटन गरेका थिए । एक्सपोमा अटोमोबाइल्स,सूचना प्रविधि,विद्युतिय उपकरण र निर्माण क्षेत्रमा भित्रिएका नयाँ प्रबिधिका स्टलहरु राखिएका छन ।
यस्तै जडिबुटि तथा कृषि उत्पादन,हस्तकला तथा घरेलु उद्योगका उत्पादन,गार्मेन्ट तथा स्वदेशी उद्योगमा निर्मित जुत्ता चप्पलका स्टलहरु समेत राखिएकाछन । एक्स्पोमा राखिएका स्टलहरुमा भारत,पाकिस्तान र बंगलादेशमा उत्पादित सामाग्रिका साथै एकमा फल्ने फलफुल,चिया र अलैची लगायतका स्थानिय उत्पादलाई विशेष महत्वका साथ प्रदर्शन र प्रर्बधन गरिएको छ ।
मेलालाई थप आर्कषक तथा मनोरंजक बनाउन परिसरभित्रै दैनिक सांगितिक र मनोरंजनात्मक कार्यक्रम समेत आयोजना गरिएको छ । मेलामा नृत्य तथा सांगितिक कार्यक्रमका साथै फेशन शो,जादु र बालबालिकाको मनोरञ्जनकालागि बिशेष ब्यवस्थापन गरिएको छ । मेलामा रोटे पिङ, मनोरंजन र खानपानका स्टलहरुले समेत आम उपभोक्ताको ध्यान खिचेको छ ।