विराटनगर,पुस १४
मोरङ ब्यापार संघले विराटनगरमा पुस ६ गतेदेखि आयोजना गरेकोे विराट ट्रेड एक्स्पो २०१८ को आज समापन भएको छ । विराटनगरको शंकरापुर मार्गमा आयोजना गरेको एक्स्पोको मोरङ ब्यापार संघले औपचारिक कार्यक्रम गरी समापन गरेको हो ।
आम उपभोक्ता र उत्पादकलाई एकै ठांउमा जमघट गराउन सफल भएको आयोजकको दावी छ । नौ दिनमा एक्स्पोले २२ करोड भन्दा बढीको कारोबार गरेको तथा एक्स्पोमा १ लाख २५ हजारभन्दा बढी मानिसहरुले भ्रमण गरेको मोरङ ब्यापार संघका अध्यक्ष पवन सारडाले बताए ।
उनले एक्स्पोमा आउने बालबालिका, अपाङ्गता भएका,ज्येष्ठ नागरिकलाई विभिन्न कुराहरुमा छुट तथा सहुलियत प्रदान गरेको बताए । यसपटकको विराट एक्स्पो भव्यरुपमा सम्पन्न भएको बताउँदै सरकारले यस्ता ब्यापारिक मेलाको लागि जग्गाको ब्यबस्था गर्नुपर्ने उनले बताए । सारडाले जग्गा उपलब्ध गराईदिन माग गर्दै भने ‘१५ जनाको जग्गा लिएर यसपटकको एक्स्पो गरेका छौँ अर्को पटक कता हुन्छौँ थाहा छैन ।’ उनले तीन तहका सरकारले नै ब्यापारीहरुबाट चर्को कर उठाउँदै आएको भन्दै आफुहरु तीन तहको सरकारको चेपुवामा परेको गुनासो गरे ।
एक्स्पोको समापन कार्यक्रममा बोल्दै प्रदेश नं १ का प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले सरकारको समृद्ध नेपाल सुखि नेपालीको नारामा व्यापारीहरुको भूमिका महत्वपूर्ण रहनेमा विश्वस्त रहेको बताए । उनले सफलता पूर्वक एक्स्पो सञ्चालन गरेकोमा मोरङ ब्यापारसंघलाई बधाई पनि दिएका थिए ।
त्यस्तै सांसद महेशजंग रायमाझीले मोरङ ब्यापारसंघले अन्य थुप्रै देशका ब्यक्तिहरुलाई आमन्त्रण गरेर मोरङमा ठूलो महोत्सव लगाउन सक्ने क्षमता रहेको देखाएको बताए । कार्यक्रममा पूर्व उद्योग मन्त्री महेश बस्नेतले आफु मन्त्री हुँदा सक्दो प्रयास गरेको बताउँदै उद्योगी ब्यापारीहरु गुनासा सरकारसामु राख्ने बताए ।
समापन समारोहमा बोल्दै मेला संयोजक अनुपम राठीले मेलामा उत्साहजनक सहभागिता रहेको र आज सहित डेढ लाख मानिसले अवलोकन गर्ने अनुमान रहेको जानकारी दिए । उनले मेला सफल पार्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ र पुर्व मन्त्री महेश बस्नेतलाई मोरङ ब्यापार संघले मायाको चिनो प्रदान गरेको थियो । त्यस्तै एक्स्पो सफल बनाउन सहयोग गर्ने, विभिन्न क्षेत्रका ब्यक्ति, कर्मचारी, अफिसियल पार्टनर, विद्यालय लगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा मेलाका उत्कृष्ट दुई स्टललाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो । एक्स्पोको औपचारिक रुपमा समापन भएपनि आजका कार्यक्रमहरु यथावत् सञ्चालन हुनेछन् ।
आज अन्तिम दिन हास्यकलाकार मनोज गजुरेल, गायक एड्रिन प्रधान लगायतका कलाकारहरुको प्रस्तुति रहने छ भने फेशन शोको पनि आयोजना गरिएको छ । मोरङ ब्यापार संघ मुख्य आयोजक रहेको मेला लाई सफल बनाउन प्रदेश १ का सम्पुर्ण मन्त्रालयहरु,कृषि ब्यवसाय प्रर्वद्धन कार्यक्रम,नेपाल पर्यटन बोर्ड,नेपाल उद्योग वाणिज्य महासंघ,विराटनगर महानगरपालिका तथा उद्योग संगठन मोरङ लगायतका संघसंस्थाहरुले समेत प्रर्वद्धन एवम सहयोग गरेका छन ।
एक्सपोको प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले पौष ६ गते उदघाटन गरेका थिए । एक्स्पोमा अटोमोबाइल्स,सूचना प्रविधि,विद्युतिय उपकरण र निर्माण क्षेत्रमा भित्रिएका नयाँ प्रबिधिका स्टलहरु राखिएका छन । यस्तै जडिबुटि तथा कृषि उत्पादन,हस्तकला तथा घरेलु उद्योगका उत्पादन,गार्मेन्ट तथा स्वदेशी उद्योगमा निर्मित जुत्ता चप्पलका स्टलहरु समेत राखिएकाछन । एक्स्पोमा राखिएका स्टलहरुमा भारत,पाकिस्तान र बंगलादेशमा उत्पादित सामाग्रिका साथै एकमा फल्ने फलफुल,चिया र अलैची लगायतका स्थानिय उत्पादलाई विशेष महत्वका साथ प्रदर्शन र प्रर्बधन गरिएको छ ।